Kathmandu Press

कांग्रेस जागरण अभियानमा महिला वक्ता अनिवार्य

काठमाडौं, वैशाख २३ : नेपाली कांग्रेसले जागरण अभियानअन्तर्गत आसन र भाषणमा महिलाको सहभागिता अनिवार्य हुने गरी परिपत्र गरेको छ। यस अघि महिलाको सहभागिताला....

कांग्रेस जागरण अभियानमा महिला वक्ता अनिवार्य

काठमाडौं, वैशाख २३ : नेपाली कांग्रेसले जागरण अभियानअन्तर्गत आसन र भाषणमा महिलाको सहभागिता अनिवार्य हुने गरी परिपत्र गरेको छ। यस अघि महिलाको सहभागितालाई ख्याल गरिएको थिएन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको नयाँ परिपत्रमा जागरण अभियानअन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिइएको छ। कांग्रेस महासमिति सदस्य निमा गिरी नेतृत्वको महिलाको टोलीले पार्टीका शीर्ष नेता तथा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै परिपत्र सच्याउन माग गरेको थियो।

कार्यक्रमलाई छोटो र छरितो बनाउने नाममा आसन र भाषणमा देशभरी महिलाले मौका नै नपाउने अवस्था देखिएपछि उनीहरुले सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, नेत्री डिला संग्रौला, पुष्पा भुसाललगायतलाई एकहप्ता अगाडि ध्यानाकर्षणपत्र बुझाएका थिए।

महिला टोलीसँगको भेटका क्रममा सभापति देउवाले आफूले महिलाले मौका नै नपाउने अवस्था आउने बारेमा ख्याल नगरेको भन्दै सच्याउने आश्वासन दिएका थिए। उनको आश्वासन अनुसार पार्टी कार्यालयले सभापति देउवाकै हस्ताक्षर रहेको परिपत्र शुक्रबार जारी गर्दै हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिएको छ।

जागरण अभियानका कार्यक्रममा स्वागत, विषय प्रवेश, प्रमुख वक्ता र सभापतिको मात्र आसन ग्रहण र उनीहरूकै मात्र भाषण हुने तालिका रहेकोमा अब महिलावक्ता पनि थपिएका छन्। मञ्चमा आसन र भाषणमा महिला नभए कार्यक्रम बहिष्कार गर्नेसम्मका चेतावनी नेतृहरुले दिएपछि पार्टीले परिपत्र सच्याउन बाध्य भएको महासमिति सदस्य निमा गिरीले बताइन।

‘देशको संविधान र पार्टीको विधानमा उल्लेख गरिएको समावेशीतालाई ख्याल गर्न माग गर्दै हामीले नेतृत्वको ध्यानाकर्षण गराएका थियौँ, उहाँहरुले गल्ती महसुस गरी सच्याउनु भयो, यसले समावेशीतालाई नेतृत्वले अस्वीकार गर्न सक्दैन भन्ने पुष्टी भएको छ,’ गिरीले भने।

कांग्रेसले एक महिने जागरण अभियान यही वैशाख २५ गतेदेखि देशव्यापी रुपमा सुरू गर्न लागेको छ।

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, वैशाख २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्