कमन लेपर्ड गेक्को: नेपालमा फेला परेको माउसुलीको नयाँ प्रजाति
कमन लेपर्ड गेक्को नेपालमा फेला परेको छ। यो नेपालमा नयाँ फेला परेको माउसुलीको प्रजाति हो। नेपाली अनुसन्धाता र प्रकृतिप्रेमीले यसलाई देशमा पाइएको माउसुलीको ११ औं प्रजाति....
कमन लेपर्ड गेक्को नेपालमा फेला परेको छ। यो नेपालमा नयाँ फेला परेको माउसुलीको प्रजाति हो। नेपाली अनुसन्धाता र प्रकृतिप्रेमीले यसलाई देशमा पाइएको माउसुलीको ११ औं प्रजाति बताएका छन्। यसकोे गैरकानूनी कारोबारलाई लिएर केही संरक्षणविद् चिन्तित पनि छन्।
यामबहादुर रावतले देख्दै अनौठो माउसुलीको फोटो फेसबुकमा पोस्ट गर्दा, सरिसृप विशेषज्ञ करण शाहले नेपालकै नयाँ प्रजाति हुनसक्ने सुझाएका थिए। ‘त्यसपछि उनले पोस्ट हटाए। थप अनुसन्धान गर्दा नेपालको नयाँ प्रजाति भएको पुष्टि भयो,’ ग्लोबल भ्वाइसेससँग बोल्दै शाहले बताए।
अनुसन्धान टोलीका एक सदस्य जीवन थापाले फेसबुकमा यस्तो लेखे: ‘नेपालमा भेटिएको माउसुलीको नयाँ प्रजातिको तस्वीर शेयर गर्न पाउँदा खुशी छु। यो नेपालमा पाइने माउसुलीको ११ औं प्रजाति हो।’
दुईवटा ‘कमन लेपर्ड’ माउसुली बाँके जिल्लाको काम्दी जैविक करिडोरमा भेटिएका हुन्। यिनीहरू निशाचर हुन्छन्। करिडोरले नेपालको बाँके राष्ट्रिय निकुञ्जलाई भारतको उत्तरप्रदेशस्थित सुहेलवा आरक्षसँग जोडेको छ। जमिनमा बस्ने लजालु स्वभावका यी माउसुली अफ्गानिस्तान, उत्तर–पश्चिम भारत र पाकिस्तानका सुखा बासस्थानमा पाइएका छन्।
यद्यपि, नेपालमा भने ३० डिसेम्बर २०१६ मा पहिलो पटक साल मिश्रित पतझड वनमा भेटिएको थियो। अनुसन्धान टोलीले पछि अन्य क्षेत्रमा पनि यी माउसुली पाइएको प्रमाण फेला पा¥यो। १८ अप्रिल २०१७ मा नवलपरासीमा दुईवटा थप लेपर्ड माउसुली भेटिए। १० जुन २०१८ मा सुर्खेतमा दश वटा भेटिए।
टोलीले अनुसन्धान लेखमा लेखेको छ- ‘कमन लेपर्ड माउसुली नेपालमा हालसम्म पत्ता लागेको थिएन। माउसुलीको यो प्रजाति निशाचर भएकाले वा पश्चिम नेपालको सरिसृपबारे सीमित अनुसन्धान भएकाले हुनसक्छ। तीन भिन्न स्थानबाट प्राप्त अभिलेखले यो प्रजाति बाँके राष्ट्रिय निकुञ्ज लगायत नेपालभर पाइनसक्ने संकेत गरेको छ।’
अन्य माउसुलीभन्दा फरक, यिनीहरूको आँखाको ढकनी चलाउन मिल्छ। सुतेको बेला आँखा खोल्न र बन्द गर्नसक्छन् तर, चिल्लो ठाडो सतह भने चढ्न सक्दैनन्। यिनीहरूको खुट्टामा त्यस्तो विशेषता हुँदैन। खुट्टा एकदमै सानो हुन्छ र पञ्जा हानिकारक हुँदैन। बीस वर्षसम्म बाँच्छन्। समातिएका कुनै त ३० वर्षसम्म बाँचेका छन्।
महँगो र उच्च माग
यी माउसुलीको कानूनी र गैरकानूनी दुबै थरि कारोबार हुने गरेको छ। अनौठा पशु पाल्नेहरूबीच यसको उच्च माग छ।
‘रेप्टाइल्स’ पत्रिका अनुसार समातेर पालिएका माउसुलीको मुल्य बीसदेखि तीन हजार अमेरिकी डलरसम्म पर्छ। नेपाल–भारत सीमाका सुरक्षाकर्मीले जफत गरेको पाँच वटा ‘लेपर्ड’ माउसुलीको मुल्य १६ लाख ५० हजार अमेरिकी डलर अर्थात् १८ करोड ४० लाख नेपाली रूपैयाँ दाबी गरिएको थियो।
यी माउसुलीको गैरकानूनी कारोबार भारतबाट हुने गरेको विश्वास छ। तर, नेपालमा पाइने माउसुलीलाई लक्ष्य बनाइएको देखिन्छ। यद्यपि, जोखिममा परेका प्रजातिहरूको आइयुसिएनको रातो सूचीमा यो अद्भुत प्रजाति समावेश गरिएको छैन।
त्यसैले, अनुसन्धाताहरूको टोलीले नेपालमा पाइने यी माउसुलीको विस्तृत लेखाजोखा राख्नुपर्ने सुझाव दिएको छ। यसले यिनीहरू कहाँ–कहाँ पाइन्छन् भनेर विस्तारमा बुझ्न र यो चमत्कारी प्रजातिको संरक्षणमा सहयोग पुग्नेछ।