सरकारलाई मिनेन्द्र रिजालको प्रश्न–निर्मलाका हत्यारा पत्ता लगाउन अझै कति वर्ष लाग्छ?
काठमाडौं, वैशाख २२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन अझै कति व....

काठमाडौं, वैशाख २२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन अझै कति वर्ष लाग्छ भनेर सरकारलाई प्रश्न गरेका छन्।
नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद रिजालले भने,‘ शुक्रबार राष्ट्रपति विद्यादेबी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मेरो सरकारले अब महिलामाथि हिंसा हुन दिने छैन भनिरहँदा निर्मलाको परिवारले कहिले न्याय पाउँछ। निर्मलाको हत्यारा पत्ता लाग्छ कि अझै यो बाटोबाट सरकार भाग्छ।’
अहिले पनि दिनहुँ हत्या, हिंसा, बलात्कारका घटना घटिरहेको भन्दै नेता रिजालले नीतिमा लेखिएका कुरालाई सरकारले कार्यान्वयन गर्नु पर्ने बताए। राष्ट्रपति विद्यादेबी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको १ सय ८० नम्बर बुँदामा ‘मेरो सरकारले अब महिलामाथि हिंसा हुन दिने छैन। हिंसा पीडित महिलाको उद्धार, राहत, मनोसामाजिक परामर्श र कानूनी उपचारका लागि पुनःस्थापना केन्द्रहरू विस्तार गरिनेछ। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यलाई निरन्तरता दिइनेछ’ भन्ने उल्लेख गरिएको छ।
यस्तै, १ सय ८१ नम्बरमा ‘समाजमा रहेका दाइजो, तिलक, बालविवाह, छुवाछुत र छाउपडी जस्ता कुप्रथा अन्त्य गर्न सचेतनामुलक सामाजिक जागरण कार्यक्रम सञ्चालन गरिनेछ’भन्ने लेखिएको छ। तर, अहिले पनि मधेसमा दिनहुँ दाइजोका विषयमा महिला जिउँदै जलिरहेका छन्। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना बढी भइसकेपनि अझै हत्यारा पत्ता लाग्न सकेको छैन।











