Kathmandu Press

देव गुरुङले भने–‘मेरो सरकार’ भन्दैमा गणतन्त्रमाथि प्रश्न उठाउनु हुँदैन

काठमाडौं, वैशाख २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा राष्ट्रपतिले &l....

देव गुरुङले भने–‘मेरो सरकार’ भन्दैमा गणतन्त्रमाथि प्रश्न उठाउनु हुँदैन

काठमाडौं, वैशाख २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दैमा गणतन्त्रमाथि प्रश्न उठाउन नहुने बताएका छन्। 

सरकारको नीति तथा कार्यक्रममाथि सुरु भएको छलफलमा  आइतबार भाग लिँदै गुरुङले भने,‘नीति तथा कार्यक्रममा राष्ट्रपतिज्यूले ‘मेरो सरकार’ भन्दैमा आपत्ति जनाउनु पर्दैन। न त गणतन्त्रमाथि नै प्रश्न उठाउनु पर्छ। ’

यसअघि वैशाख २० गते सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेकी थिइन्। ‘नेपाल सरकार’ को सट्टा ‘मेरो सरकार’ भनेर राष्ट्रपति भण्डारीले राजाकै झल्को दिएको भन्दै प्रतिपक्षी दल कांग्रेस लगायत नेकपाकै कतिपय सांसदहरुले प्रश्न उठाएका छन्। 

प्रतिपक्षी दलका सांसदहरुको प्रश्नको जवाफ दिँदै गुरुङले ‘मेरो सरकार’ भनेर प्रयोग हुनुलाई नयाँ भाषा र पदावलीका रुपमा लिनु पर्ने बताए। उनले एउटा शब्दावलीलाई लिएर पूर्वाग्रही ढुंगले गणतन्त्रमाथि नै प्रश्न उठाउनु राम्रो नभएको बताए। 

प्रमुख सचेतक गुरुङले नीति तथा कार्यक्रम राम्रो भएको र कार्यान्वयनमा सरकारले ध्यान दिनु पर्ने बताए।

प्रकाशित मिति: १८:३९ बजे, आइतबार, वैशाख २२, २०७६