राजेन्द्र महतोको प्रश्न–नीति तथा कार्यक्रम भाङ खाएर बनाएको हो?
काठमाडौं, वैशाख २२ : राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारको नीतिक तथा कार्यक्रम भाङ खाएर बनाएको जस्तो भएको टिप्पणी गरेका छन्....
काठमाडौं, वैशाख २२ : राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारको नीतिक तथा कार्यक्रम भाङ खाएर बनाएको जस्तो भएको टिप्पणी गरेका छन्।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबार धारणा राख्दै महतोले सरकारलाई प्रश्न गर्दै भने– के यो नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो? महतोले सरकारले संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमति नरहेको भनेर झुटो बोलेको पनि आरोप लगाए।
‘के संविधानका विषयमा केही कुरा उठेका छैनन्?,’उनले सरकारलाई प्रश्न गर्दै भने,‘संविधान संशोधनको माग हाम्रो के हराएको हो? कि सरकारले त्यसलाई पूरा गरिसक्यो? संविधानमा कसैको विमति छैन भन्ने? कहिलेदेखि विमति भएन?’
उनले सरकारले संविधानमा कसैको विमति छैन भनेर मधेसी जनताका अधिकारमाथि दिनदहाडै डकैती गरेर जनतालाई ढाँट्ने खोजेको आरोप लगाए। ‘ मधेसी जनताका अधिकारमाथि दिनदहाडै डकैती गर्ने र जनतालाई गुमराहमा राख्न यस्तो नीति तथा कार्यक्रम ल्याइएको हो,’ महतोले भने।






