Kathmandu Press

कांग्रेसले संघदेखि वडास्तरसम्म ‘कांग्रेस मेला’ आयोजना गर्ने

काठमाडौं, वैशाख २२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघदेखि वडास्तरसम्म ‘कांग्रेस मेला’ आयोजना गर्ने भएको छ। 

....

कांग्रेसले संघदेखि वडास्तरसम्म ‘कांग्रेस मेला’ आयोजना गर्ने

काठमाडौं, वैशाख २२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघदेखि वडास्तरसम्म ‘कांग्रेस मेला’ आयोजना गर्ने भएको छ। 

पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले संघ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि ‘कांग्रेस मेला’ को आयोजना गर्ने निर्णय गरेको हो।

बैठकले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको  पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए। बैठकले वैशाख २५ देखि सञ्चालन गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानलाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्ने निर्णय गरेको उनले बताए। कांग्रेसले पार्टीका महाधिवेशन प्रतिनिधि, प्रदेशस्तरीय प्रशिक्षण गर्ने, कांग्रेसका तर्फबाट स्थानीय तहमा विजयी उम्मेदवार, पार्टीका शुभेच्छुक तथा भ्रातृ संस्था र जनसम्पर्क समितिका सदस्यलाई प्रशिक्षण पनि दिने भएको छ। 

यस्तै, नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलनलगायत विषयमा १८ वर्ष उमेरका युवालाई विशेष कार्यक्रम तर्जुमा गर्ने, क्रियाशील सदस्य नवीकरण गर्नुपूर्व प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको सचिव आचार्यले बताए।

यस्तै, बैठकले पार्टीका महाधिवेशन प्रतिनिधिहरुको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम देशका सातवटै प्रदेशमा आयोजना गर्ने पनि निर्णय गरेको छ। सातवटै प्रदेशका पार्टीका प्रदेश सभा सदस्यहरुका लागि प्रदेश स्तरीय संवाद र प्रशिक्षण पनि गरिने छ।  कांग्रेसबाट विजयी गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरुको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको उनले बताए।
 

प्रकाशित मिति: १६:५० बजे, आइतबार, वैशाख २२, २०७६