चाडपर्वसँगै घट्यो कारोना भाइरसको परीक्षण
काठमाडौं, मंसिर ४ : चाडपर्वसँगै चहलपहल बढेको छ। यस्तो वेला कोरोना परीक्षण बढ्नुपर्नेमा घटेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले...
काठमाडौं, मंसिर ४ : चाडपर्वसँगै चहलपहल बढेको छ। यस्तो वेला कोरोना परीक्षण बढ्नुपर्नेमा घटेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले परीक्षण घटेको बताए। ‘दैनिक १० हजार जनाको परीक्षण हुन्थ्यो। तर, अहिले लगभग चार हजारको मात्र परीक्षण भइरहेको छ,’ डा. गौतमले बताए।
देशभर ७६ वटा प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ। जसमा ४४ सरकारी प्रयोगशाला रहेका छन् भने ३२ वटा निजी प्रयोगशाला छन्। ‘अहिले सबै प्रयोशालाबाट न्यून संख्यामा मात्र परीक्षण भइरहेको छ,’ डा. गौतमले भने।
परीक्षण गर्न आउनेको संख्या नै घटेको उनको भनाइ छ। ‘कोरोना संक्रमितको लक्षण देखिएकाहरु मात्र परीक्षण गर्न आउन थालेपछि परीक्षण गर्नेको संख्या घटेको हो,’ डा. गौतमले भने।
अहिलेसम्म देशभर १६ लाख २३ हजार सात सय ५४ जनाको कोरोना परीक्षण भएको छ। जसमध्ये दुई लाख १२ हजार नौ सय १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
अहिलेसम्म ५ प्रतिशतको कोरोना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताए। यो एकदमै न्यून संख्या भएको डा. गौतमको भनाइ छ।
अहिलेसम्म सबैभन्दा बढी परीक्षण बागमती प्रदेशमा गरिएको छ। बागमतीमा ३८ वटा अस्पताल तथा प्रयोगशालाबाट आठ लाख ६९ हजार दुई सय ७२ जनाको परीक्षण भएको छ।
कोरोना परीक्षण धेरै गर्नेमा दोस्रो स्थानमा प्रदेश १ रहेको छ। प्रदेश १ का आठ वटा अस्पताल तथा प्रयोगशालाबाट दुई लाख ७९ हजार ९१ जनाको कोरोना परीक्षण भएको छ।
तेस्रो स्थानमा लुम्बिनी प्रदेश रहेको छ। जसमा ११ वटा प्रयोगशालाबाट एक लाख ७० हजार दुई सय ५६ जनाको कोरोना परीक्षण भएको छ।
त्यस्तै, गण्डकीमा तीन वटा प्रयोगशालाबाट एक लाख ६ सय १४ जनाको कोरोना परीक्षण गरिएको छ। प्रदेश २ मा ६ वटा प्रयोगशालाबाट ८६ हजार ६ सय ४३, कर्णली प्रदेशमा चार वटा प्रयोगशालाबाट ९० हजार आठ सय १५ र सुदूरपश्चिम प्रदेशमा ६ वटा प्रयोगशालाबाट ९७ हजार एक सय ६३ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ।
अहिलेसम्म सरकारी प्रयोगशालामा १२ लाख १४ हजार नौ सय दुई र निजी प्रयोगशालामा चार लाख ८८ हजार ५२ जनाको स्वाब कोरोना परीक्षण गरिएको छ।



-1790332718.jpg)




-1790332718.jpg)


