कांग्रेसलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन जरूरी छ: पाैडेल
काठमाडौं, वैशाख २२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सुनौलो भविष्यका लागि समयबद्ध तालिकाअनुसार काम ....

काठमाडौं, वैशाख २२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सुनौलो भविष्यका लागि समयबद्ध तालिकाअनुसार काम गर्न जरुरी भएको बताएका छन्।
कांग्रेसका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधनको १३ औँ दिनमा पार्टी केन्द्रीय कार्यालयले आइतबार गरेको श्रद्धाञ्जलि शोकसभामा उनले समयमा पार्टीका सबै तहको अधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन्। नेता पौडेलले कांग्रेसलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि स्व नेता ताम्राकारको जस्तो विचार, सोच र योगदानलाई अनुसरण गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने बताए।
'पार्टीका सबै सङ्गठनका समस्या नयाँ ढङ्गले समाधान गरी अघि बढ्नुपर्छ, नयाँ शुरुवात गरेर पार्टीलाई सबल बनाएर कांग्रेसले विकल्प दिनुपर्छ,' उनले भने,'जनताले कस्तो कांग्रेस हेर्न चाहेका छन् त्यस्तो पार्टी बनाउन सबै लाग्नु पर्छ।'
'अबको एक-दुई वर्षमा स्थानीय निर्वाचन शुरु हुन्छ, त्यसपछि राष्ट्रिय निर्वाचन हुन्छ, त्यसको सामना गर्न अहिलेदेखि नै तयारी गर्नुपर्छ,' नेता पोडेलले भने। उनले कार्यकर्तालाई प्रशिक्षण गरी मूल्याङ्कन गर्नुपर्ने र उचित व्यक्तिलाई उचित स्थानमा जिम्मेवारी दिएर काम गर्नुपर्ने सुझाव दिए।











