Kathmandu Press

राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु आपत्तिजनक : देउवा

काठमाडौं, वैशाख २२ : नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका  नेता शेरबहादुर देउवाले कांग्रेसले ल्याएका आयोजनाहरुलाई वर्तमान सरकारले ....

राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु आपत्तिजनक : देउवा
काठमाडौं प्रेस

काठमाडौं, वैशाख २२ : नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका  नेता शेरबहादुर देउवाले कांग्रेसले ल्याएका आयोजनाहरुलाई वर्तमान सरकारले आफ्नै बनाएको आरोप लगाएका छन्।

शुक्रबार सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै देउवाले अघिल्ला सरकारले ल्याएका कार्यक्रमलाई वर्तमान केपी शर्मा ओली सरकारले आफ्नै बनाएको आरोप लगाए।

‘भेरी–बबई डाइभर्सन सिंचाई आयोजना, समाजिक सुरक्षा कार्यक्रमदेखि तामाकोशी आयोजनासम्मलाई यही सरकारले गरेझैँ गरी प्रस्तुत भएको छ,’ देउवाले भने। उनले आफ्नो सरकारको पालामा सुरु भएका कार्यक्रमहरुको जस लिन खोजेको आरोप समेत लगाए। 

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नीति तथा कार्यक्रम पढ्दा नेपाल सरकारको ठाउँमा मेरो सरकार भनेकोमा देउवाले आपत्ति जनाए।

एक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमका योजना दुई वर्षे, चार वर्षे त कुनै २५ वर्षे योजनासमेत राखिएको भन्दै देउवाले आलोचना गरे। देउवाले लहडमा कार्यक्रमहरु प्रस्ताव गरिएको समेत बताए ।

उनले, रणनीतिक महत्वको बुढीगण्डकी आयोजनालाई स्वदेशी लगानीमा बनाउने निर्णय बद्लेर वर्तमान सरकारले ठुलो खेलवाड र घात गरेको आरोप लगाएका छन्।

प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गेजुवासँगको सम्झौता खारेज गर्दै राष्ट्रिय लगानीमा बनाउने निर्णय गरेको थियो।  तर, अहिले केपी शर्मा ओली नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई नै दिएको छ।

प्रकाशित मिति: १२:१९ बजे, आइतबार, वैशाख २२, २०७६