Kathmandu Press

मेलम्चीको सम्झौता नै त्रुटिपूर्ण : महालेखा

काठमाडौं, वैशाख २२ : मेलम्ची खानेपानी आयोजना निर्माणका लागि इटालीयन कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्रि (सीएमसी)सँग भएको सम्झौता नै त्रुटिपूर्ण ....

मेलम्चीको सम्झौता नै त्रुटिपूर्ण : महालेखा
फाइल फोटो

काठमाडौं, वैशाख २२ : मेलम्ची खानेपानी आयोजना निर्माणका लागि इटालीयन कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्रि (सीएमसी)सँग भएको सम्झौता नै त्रुटिपूर्ण देखिएको छ।

महालेखा परीक्षकको ५६औं प्रतिवेदनले सीएमसीसँगको निर्माण सम्झौता त्रुटिपूर्ण रहेको औल्याएको हाे। त्रुटीपूर्ण सम्झौताका कारण सीएमसीले मेलम्चीबाट पाएको भुक्तानी विदेश लगेको खुलेको छ। महालेखाका अनुसार, सीएमसीले ७१.९० प्रतिशत रकम विदेश लगेको हो। अहिलेसम्म मेलम्चीमा २५ अर्ब २० करोड खर्च भएको छ।

महालेखाको प्रतिवेदनले आयोजना निर्माणका क्रममा सीएमसीले साइटमा तथा निर्माण कार्यमा लाग्ने रकम नराखी ७१.९० प्रतिशत रकम इटाली पठाउने गरेका कारण नगद प्रवाहमा समस्या भएको जनाएको छ। जसले मेलम्ची आयोजनाले अतिरिक्त भुक्तानी गर्नु परेको देखिएको छ।

Hardik ivf

‘समिति र निर्माण व्यवसायीबीच भएको सम्झौतामा स्थानीय र वैदेशिक मुद्राको भुक्तानी अनुपात २८.१० र ७१.९० प्रतिशत हुने उल्लेख गरेकोमा डलर खातामार्फत विदेश पठाउने रकम उल्लेख नभएको हुँदा भुक्तानी खर्चमध्ये ७१.९० प्रतिशत रकम इटाली पठाएको कारण नगद प्रवाहमा समस्या रहेको पाइयो,’ महालेखाको ५६औं प्रतिवेदनमा भनिएको छ, ‘साइटमा तथा निर्माण कार्यमा लाग्ने रकम नराखी ७१.९० प्रतिशत रकम इटाली पठाउने गरेबाट नगद प्रवाहमा समस्या भई अतिरिक्त भुक्तानी गर्नु परेको देखिँदा सम्झौतानै त्रुटिपूर्ण देखियो।’

प्रतिवेदन अनुसार, पटक–पटक अतिरिक्त पेस्की दिएको समेत पाइएको छ। समितिले २०७०/७१ मा नै सम्झौताको शर्तअनुसार मोबिलाइजेसन पेस्की १५ करोड ४६ लाख ९४ हजार थियो। फेरि गत वर्ष पनि पटक–पटक गरी ५९ करोड १३ लाख ६० हजार अतिरिक्त पेस्की दिएको छ।

त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा थप वित्तीय सहजीकरणको लागि निशर्त बैंक जमानत राखी पहिलो पटक १० करोड र दोस्रो पटक एक करोड ३६ लाख ९५ हजार पेस्की भुक्तानी गरेको छ।

महालेखाका अनुसार, मेलम्चीले भुक्तानी गरेको रकमको नेपालमा प्रयोग भए/नभएको विषयमा गम्भीरता देखाएको छैन। नेपालमा भएको खर्च र नेपाल बाहिर गएकोमध्ये निर्माण कार्यको लागि पुनः नेपाल फिर्ता भएको रकम विश्लेषण नगरेकोतर्फ पनि महालेखाले सचेत गराएको छ।

सयममा काम नगर्दा थप व्ययभार

त्यस्तै, सीएमसीले सयममा काम नसक्दा थप व्यवभार परेको महालेखाको प्रतिवेदनले औल्याएको छ। आयोजनाले हेडवक्र्स निर्माण गर्न ६२ करोड ८७ लाख २१ हजारमा सम्झौता गरेकोको थियो।

तर, सुरुङ निर्माण कार्य सम्पन्न हुँदा समेत मुहानदेखि इन्टेकसम्म पानी ल्याउँन नसक्ने अवस्था देखाई पाँच करोड ८८ लाख ५४ हजार लागतमा वैकल्पिक पाइप डाइभर्सन निर्माण कार्यको लागि १२औं भेरिएसन स्वीकृत गरिएको छ। सम्झौतामा स्पष्ट उल्लेख भएको हेडवक्र्स निर्माण कार्य समयमा सम्पन्न नगरेका कारण थप व्ययभार परेको प्रतिवेदनमा उल्लेख छ।

सीएमसीलाई बढी भुक्तानी

परामर्शदाता तथा मेलम्ची खानेपानी विकास समितिका इन्जिनियर तथा पदाधिकारीले बढी भुक्तानी दिएको पाइएको छ। महालेखाको प्रतिवेदन अनुसार, ४१औं बिल तयार गर्दा निर्माण व्यवसायीलाई ४०औं बिलसम्ममा विभिन्न आइटमका लागि ५३ करोड ४८ लाख ९६ हजार बढी भुक्तानी दिइएको थियो।

त्यो रकम फिर्ता गर्नु पर्ने गरी अन्तरिम भुक्तानी बिल तयार गरिएको थियो। तर, त्यस अनुसारको रकम फिर्ता नगरी ४१औं बिल तयार गरी भुक्तानी दिएको महालेखा प्रतिवेदनमा उल्लेख छ।

आयोजनाले निर्माण व्यवसायीसँग गरेको सम्झौताअनुसार, जनरल आईटम एन्ड प्रिलिमिनरीजमा ६० करोड ५३ लाख ९० हजारसम्म खर्च गर्न पाउने शर्त थियो। तर, ४०औं रनिङ बिलसम्ममा पहुँच सडक, सवारी मर्मत, ड्राइभर, श्रमिक ज्यालालगायतका १३ कम्पोनेन्टमा सम्झौता गरेको भन्दा ६ करोड चार लाख ६९ हजार बढी खर्च भएको महालेखा प्रतिवेदनले उल्लेख गरेको छ।

मूल्य समायोजनका नाममा अतिरिक्त भुक्तानी

निर्माण कम्पनी सीएमसीलाई मूल्य समायोजनका नाममा पनि अतिरिक्त भुक्तानी दिएको पाइएको छ। सीएमसीसँग भएको सम्झौतामा बुदा नं. १३.८ मा निर्माण कार्यमा प्रयोग हुने श्रमिक ज्याला, सामग्री, उपकरणलगायतमा मूल्यसूचीका आधारमा मूल्य समायोजन गर्न पाउने व्यवस्था छ।

यसैमा टेकेर सीएमसीलाई ४०औं बिलसम्म नेपाली मुद्राको भुक्तानीमा ४० करोड ५६ लाख ६६ हजार र विदेशी मुद्राको भुक्तानीमा आठ करोड ७७ लाख २६ हजार गरी ४९ करोड ३३ लाख ९२ हजार मूल्य समायोजन भुक्तानी दिएको छ।

एउटै कारण जनाई पटक–पटक म्याद थप गर्ने गरेको र पर्याप्त पुष्ट्याइँ नगरी म्याद थप गर्दा समेत मूल्य समायोजन दिने गरेको र अतिरिक्त लागत दाबी गरेको रकममा परामर्शदाताले मूल्य समायोजन दिने सम्बन्धमा कुनै व्यहोरा उल्लेख नगरी मूल्य समायोजनका नाममा भुक्तानी दिएको महालेखाले औल्याएको छ।

निर्माण व्यवसायीकै ढिलाइले पटकपटक म्याद थप भएको देखिँदा पनि गत वर्षसम्म ३७ करोड ३७ लाख ८१ हजार र यस वर्ष ११ करोड ८६ लाख ११ हजार मूल्य समायोजन भुक्तानी दिइएको छ। यसका विषयमा छानविन गर्नु पर्ने महालेखा प्रतिबेदनले सुझाएको छ।

मेलम्ची आयोजनामा अहिलेसम्म २५ अर्ब २० करोड खर्च भएको छ। यसको हेडवक्र्स तथा सुरुङ निर्माण कार्यमा ९० र समग्रमा ९६ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।

प्रकाशित मिति: १२:०५ बजे, आइतबार, वैशाख २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्