Kathmandu Press

देउखुरीमा महिलाले चलाएका व्यवसाय सफल बन्दै

देउखुरी , कात्तिक १ : कुनै समय पुरुषको एकाधिकार रहेको उद्यम क्षेत्रमा पछिल्लो समय महिलाले राम्रो काम गर्दै आएका छन् । आर्थिक स्तरोन्नतिसँगै...
देउखुरीमा महिलाले चलाएका व्यवसाय सफल बन्दै

देउखुरी , कात्तिक १ : कुनै समय पुरुषको एकाधिकार रहेको उद्यम क्षेत्रमा पछिल्लो समय महिलाले राम्रो काम गर्दै आएका छन् । आर्थिक स्तरोन्नतिसँगै समाजका लागि केही गरौँ भन्ने लक्ष्यका साथ उद्यममा पकड जमाउन महिला सफल हुन थालेका छन् ।

आवश्यक खर्च जुटाउन श्रीमान् र परिवारका अन्य सदस्यसँग निर्भर हुने महिलाले अहिले सफल उद्यमीको परिचय बनाइसकेका छन् । महिलाले सामूहिक र व्यक्तिगत रूपमा व्यवसाय गर्दै आएका छन् ।  स्थायी घर अर्घाखाँची  भएकी दिलु मगर वैदेशिक रोजगारीका लागि चार वर्ष लेबनान गईन । घरेलु कामदारका रूपमा न्यून ज्यालामा काम गर्नुपरेको उने सुनाईन । नेपालमा नै केही गर्ने सोच बनाएर नेपाल फर्किएकी उनले घोराहीको भरतपुरमा १० लाख ५० हजार  लगानीमा ‘अर्घाखाँची लेडिज कपडा पसल’ सुरु गरिन ।  ‘‘लेबनानमा गएर घरेलु कामदार हुँदा धेरै दुःख पाइयो”, मगरले भनिन्, “काम कसरी गर्नुपर्छ भन्ने लेबनानले सिकायो । त्यहाँको ऊर्जालाई नेपालमा प्रयोग गरेँ । कपडा बिक्रीबाट मासिक रु ९० हजार  आम्दानी  हुने गरेको छ । ”

Hardik ivf

मल्लरानी गाउँपालिका –३ चौरपानीका कमला गिरी र भूमा पौडेलको घोराहीमा २०७६ सालदेखि रु २५ लाख लगानीमा ‘नमूना सिलाइ तथा गार्मेन्ट’ उद्योग सञ्चालनमा छ । केही गर्नुपर्छ भन्ने सोचका साथ दुई मिलेर सिलाइ तथा गार्मेन्ट उद्योग खोली पाँच जनालाई रोजगारी  दिएका छन्। उद्योगमा विद्यालय पोशाक, टिसर्ट, ट्रयाकसुट, शिक्षक र  विद्यार्थीको पोशाक सिलाउने गरिएको र  थप व्यवस्थापन गरेर उद्योग विस्तार गर्ने सोचाइमा रहेको पौडेलले बताईन । 

बंगलाचुली–४ की सीता पाण्डेले घोराही– १५ मा कुटानीपिसानी गर्नका लागि मिल सञ्चालन गरेर स्वरोजगार बनेकी छन् । पिठो, चामल, दाल र  मसला पिस्नका लागि खोलिएको मिलमा एक महिलालाई रोजगारी पनि मिलेको छ । सदरमुकाम बसाइँ सरेर  व्यवसाय शुरु गरेको एक वर्ष भएको छ । रु २० लाख  लागतमा शुरु गरिएको व्यवसायबाट उनले आम्दानी लिन शुरु गरिसकेकी छन्। 

“यति नै आम्दानी हुन्छ भन्न सकिन्न”, पाण्डेले भनिन्, “कुनै महिना राम्रो आम्दानी हुन्छ त कुनै महिना कम, औसतमा मासिक रु ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ  ।” 

घोराही– १५ निवासी माधवी डिसीलाई  सिलाइकटाइले आत्मनिर्भर हुने अवसर मिलेको छ । कपडा सिलाउने काम गर्दा समय पनि सदुपयोग हुनाका साथै आम्दानीको गतिलो आधार भएको छ । विसं २०६९ मा सरकारले ल्याएको ‘युवा स्वरोजगार कार्यक्रम’ अन्तर्गत स्थानीय सहकारीबाट रु एक लाख ऋण लिई  दुई  सिलाइ यन्त्र खरीद गरेर  शुरु गरेको व्यवसायमा अहिले सात यन्त्र छन् ।  मासिक रु ७० हजारसम्म आम्दानी गरिँदै आएको र व्यवसायबाटै छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन र अन्य काम गर्नलाई सजिलो भएको उनी बताउँछिन् । 

घोराही –२ रामपुरकी पुष्पा पोख्रेलले सहकारी र महिला समूहबाट तीन लाख कर्जा लिई  पाँच वर्षदेखि  ‘पोख्रेल गाई फर्म’ सञ्चालनमा ल्याएकी छन् ।   घाँसखेतीका लागि छ कट्ठा जमीन वार्षिक रु २० हजार भाडामा लिई सञ्चालनमा ल्याएको फर्ममा अहिले जर्र्सी जातका ६ गाई  छन् । दैनिक ६० लिटर दूध बिक्रीबाट मासिक रु ६० हजार आम्दानी गर्दै आएको उनी बताउँछिन्। 

उद्यमीको आकर्षण बढेको र साना तथा घरेलु र मझौला उद्योग महिलाका नाममा खुल्ने क्रम बढेको कार्यालय प्रमुख उमबहादुर वलीले जानकारी दिए।  उनका अनुसार यस आर्थिक वर्षमा कृषि तथा वनजन्य ९४, सेवामूलक ३३ र  उत्पादनमूलक २१  उद्योग दर्ता भएका छन्। लुम्बिनी प्रदेश सरकारले घरेलु तथा साना उद्योग दर्तामा छुटको योजना ल्याएपछि दाङमा २४ उद्योग दर्ता भएका छन् । रासस
 

प्रकाशित मिति: २१:४४ बजे, सोमबार, मंसिर १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्