सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली
काठमाडाैं, वैशाख २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्तमान अवस्थामा लोकतन्त्रको सुदृढीकरण तथा मानवअधिकार, प्रेस स्वतन्त्रता सुनिश्चित ....

काठमाडाैं, वैशाख २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्तमान अवस्थामा लोकतन्त्रको सुदृढीकरण तथा मानवअधिकार, प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै सुशासन र विकासको बाटोमा स्पष्ट ढङ्गले अगाडि बढ्न चाहेको बताएका छन्।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६-७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँगको छलफलमा उठेका जिज्ञासा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत नीति तथा कार्यक्रम जनताका आधारभूत आवश्यकता परिपूर्तिमा केन्द्रित रहेको स्पष्ट पारेका हुन्। उनले देशमा शान्ति तथा सुव्यवस्था कायम गरी तथा कमजोर तथा अशक्तका अधिकार समेत सुनिश्चित गर्दै उनीहरुको क्षमता अभिवृद्घि गराउन नीति तथा कार्यक्रममा थुप्रै व्यवस्था समेटिएको बताए।
प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहित गरेर विकास प्रयासमा सहभागी गराउने र सहकारीलाई पनि अघि बढाउने नीति लिएको बताए। नीति तथा कार्यक्रममा कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा राष्ट्रिय गौरवका आयोजना आदिलाई कसरी अघि बढाउने भन्नेबारे नीति तथा कार्यक्रममा स्पष्टरुपमा आएको उनले बताए।
प्रधानमन्त्रीले शान्ति सुव्यवस्था कायम गर्ने, भ्रष्टाचार उन्मूलन तथा अपराध रोकथामलाई उच्च प्राथमिकता दिँदै सुशासनका माध्यमबाट सामाजिक न्याय प्रदान गर्ने कुरालाई नीति तथा कार्यक्रममा जोड दिइएको बताए। प्रधानमन्त्री ओलीले विकास खर्च कम भएको कुरालाई स्वीकार गर्दै बाह्य पूँजी र प्रविधि सामेल गराउँदै विकास निर्माणका कामलाई तीव्रता दिने नीति लिइने बताए। नीति तथा कार्यक्रम कार्यान्वयनमा पत्रकारले उठाएको संशय सम्बन्धमा प्रधानमन्त्रीले भने,“यसमा अस्पष्टता केही छैन, हामीले विकास खर्च बढ्न नसकेको स्वीकार गरेका छौँ, तर हामी असन्तुष्ट छैनौँ गति बढाउनु भने जरुरी छ।” रासस











