Kathmandu Press

चर्चित कलाकार रुद्रराज पाण्डेको निधन

काठमाडौं, वैशाख २१ : चर्चित कलाकार एवं निर्देशक रुद्रराज पाण्डेको निधन भएको छ। पाण्डेको ८२ वर्षको उमेरमा ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा शुक्....

चर्चित कलाकार रुद्रराज पाण्डेको निधन

काठमाडौं, वैशाख २१ : चर्चित कलाकार एवं निर्देशक रुद्रराज पाण्डेको निधन भएको छ। पाण्डेको ८२ वर्षको उमेरमा ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ निधन भएको हो ।

गल्फुटारस्थित आफ्नै घरमा लडेर टाउकोमा चोट लागेपछि १० दिनअघि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। टाउकोमा चोट लागेर मस्तिष्कमा रगत जमेका कारण पाण्डेको निधन भएको उनका जेठा छोरा रवीन्द्र पाण्डेले जानकारी दिए। 

उनका एक छोरी, दुई छोरा र श्रीमती छन्। एक जमानामा नाम चलेका अभिनेता तथा चर्चित निर्देशक पाण्डे पछिल्ला केही वर्षदेखि स्वास्थ्यका कारण थलिएका थिए। मस्तिष्कलाई कमजोर पार्ने रोग डिमेन्सियाबाट पीडित पाण्डे केही महिनादेखि झट्ट मान्छे चिन्न नसक्ने अवस्थामा थिए।

उनी कुनै समय नयाँ कलाकारलाई मौका दिनेदेखि कला सिकाउनसम्म माहिर थिए। ४० को दशकमा विभिन्न टेलिचलचित्रमा अभिनय र निर्देशन गरेका पाण्डेले त्यही दशकको समयमा केही चलचित्रमा पनि अभिनय गरेका थिए।

बासुदेव, श्रीस्वस्थानी, बसन्ती, जलन, मन र चोखो मायालगायतका चलचित्रमा अभिनय गरेका पाण्डेले निर्देशन गरेको रुपमति र सहनशिला सुशिलालगायतका टेलिचलचित्र नेपाली दर्शकमाझ लोकप्रिय छन्। 

पाण्डेले अर्काको मान्छे (पहिलो), म, लक्ष्मी पूजा, गुलाफ एकै पटक फुल्छ, निर्णय, अमरपुत्र, चपाइएका अनुहार, बडा हाकिम, निमित्त नायक, अलिखित, भोक र भित्ताहरु, अविरल बग्दछ इन्द्रावती आदिमा पनि अभिनय गरेका थिए।
 
स्व. टङ्कराज पाण्डे र माता स्व. दुवेन्द्रलक्ष्मी पाण्डेको कोखबाट जन्मिएका पाण्डेको जन्म वि.सं. १९९५ चैत २३ गते बुधबारका दिन भएको थियो। उनी शिक्षक, कृषि सामग्री संस्थानका जागिरे र पछि कलाकार तथा निर्देशक बनेका थिए।
 

प्रकाशित मिति: १५:१८ बजे, शनिबार, वैशाख २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्