Kathmandu Press

तिहारमा स्वदेशकै सयपत्री र मखमली

यस वर्षको तिहारमा विदेशबाट फूल आयात नहुने, नेपालकै उत्पादन पर्याप्त, काेराेनाका कारण माग कम भएकाले पुष्प व्यवसायी चिन्तित भएका छन्।
तिहारमा स्वदेशकै सयपत्री र मखमली
तिहारमा बिक्री गर्न काठमाडाैंकाे नागार्जुन नगरपालिकास्थित इचुंगामा फूल टिप्दै स्थानीय बासिन्दा। तस्बिरहरु: रिवाज राई।

काठमाडौं कात्तिक २७ : यस वर्षको तिहारमा स्वदेशकै फूलका माला हुने भएका छन्। नेपालमै फूलको उत्पदान पर्याप्त भएपछि भारतबाट आयात नगरिने भएको छ।

कोरोना भाइरसको महामारीका कारण मानिसहरुको चहलपहल कम रहेको फूलको माग कम हुने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ। एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस वर्ष तिहारमा स्वदेशकै फूलले पुगने बताए।

‘गतवर्ष २५ लाख माला माग भएको थियो। जसमध्ये २२ लाख माला उत्पादन गरिएको थियो,’ एसोसिएसनका अध्यक्ष श्रेष्ठले भने, ‘यसवर्ष १५ लाख मालाको माग आएको छ। यति त नेपालकै उत्पादनले धान्छ।’

Hardik ivf

गतवर्षभन्दा यो वर्ष तिहारका लागि फूलको माग कम भएको उनले बताए। जसले गर्दा विदेशबाट आयात गर्नु नपर्ने उनको भनाइ छ।

कोरोनाको जोखिमका कारण चलहपहल कम छ। एक जिल्लाबाट अर्को जिल्ला जानेका संख्या न्यून छ। त्यसैले फूलको माग पनि कम भएको एसोसिएसनले जनाएको छ।

एसोससिएसनका अध्यक्ष श्रेष्ठका अनुसार नेपालकै उत्पादनले तिहारको माग धान्ने भएको छ । ‘त्यसैले अन्य देशबाट आयात नर्गन व्यवसायीहरुलाई आग्रह गरिरहेकोे छौं,’ अध्यक्ष श्रेष्ठले भने।

यस वर्ष एउटा मालाबराबर खुद्रा बिक्रीको लागि ६० देखि ७० रुपैंया तोकिएको छ। अन्य देशबाट आयात हुँदा अझ सस्तो मूल्य पर्ने भएकाले व्यवसायीहरु स्वदेशी उत्पादनभन्दा विदेशी फूललाई प्रथामिकता दिने गरेका छन्।

माग कम हुँदा पुष्प व्यवसायी चिन्तित

तिहार सुरु भएसँगै फूलको बिक्री पनि सुरु भएको छ। पूजापाठदेखि घर सजावटमा फूलको प्रयोग हुन्छ।

तर, यस वर्ष फूलको माग कम हुँदा पुष्प व्यवसायी भने चिन्तित बनेका छन्। १७ वर्षदेखि पुष्प व्यवसाय गर्दै आएका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित जनगालका रमेश तिमल्सिना फूल खेर जान्छ कि भन्ने चिन्ता लागेको बताउँछन्। तीन रोपनी जमिनमा फूल खेती गरेका उनी भन्छन्, ‘पाँच हजार माला हुनेजति फूल उत्पादन हुन्छ। कोरोनाका कारण बिक्री हुदैन कि भन्ने चिन्ता छ।’

गत वर्ष उनले तिहारमा २० हजार माला उत्पादन गरेको थिए। आठ रोपनी खेतमा लगाएको सबै फूल बिक्री भएको थियो।

सिजनअनुसार, १७ रोपनी जमिनमा फूल खेती गर्दै आएका उनी यो तिहारमा आधा जमिनमा मात्रै फूल लगाएको बताए। ‘गाउँघरतिर सबैले आफुलाई पुग्ने उत्पादन गरेका हुन्छन्। शहरी क्षेत्रमा यसपटक बसोबास गर्र्नेको संख्या कम छ, त्यसैले बिक्री हुँदैन कि भन्ने चिन्ता छ,’ उनले भने।

त्यस्तै, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१० बालुवाका बुद्धी आचार्य पनि चिन्तित नै छन्। कोरोनाका कारण रोजगारी गुमेपछि फूल खेती गर्न थालेका उनी माग कम रहेको बताउँछन्।

उनले दुई रोपनी जमिनमा फूल खेती गरेका छन्। ‘सोचेजस्तो माग आएको छैन, अलिअलि आउन थालेको छ,’ आचार्य भन्छन्, ‘तीन हजारभन्दा बढि माला बन्छन् होला। सबै बिक्री हुदैन कि भन्ने डर लागेको छ।’ उनले एउटा माला बराबर ४० देखि ४५ रुपैयाँमा बिक्री गर्दै आएका छन्।

यस वर्ष तिहारमा मात्रै होइन, अन्य चाँडपर्वमा पनि फूल खासै बिक्री भएनन्। यस अघि मठमन्दिर, पूजापाठ, महोत्सव, विवाह, वर्तबन्ध, पार्टीहरुका लागि फूलको प्रशस्त माग हुने गरेको थियो। यस पटक भने कोरोनाका कारण घटेको व्यवसायीहरु बताउँछन्।

यस अघिका वर्षहरुमा दर्शैमा पनि फूलको बिक्री अत्यधिक हुने गरेको थियो। यस पटक भने दशैंमा पनि खासै बिक्री भएन। अब तिहारमा बिक्री हुने आशमा बसेका छन्, पुष्प व्यवसायीहरु।

प्रकाशित मिति: १७:०८ बजे, बिहीबार, कात्तिक २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्