Kathmandu Press

प्रधानमन्त्री ओलीले भने–राष्ट्रप्रमुख राष्ट्रपति नै भएकाले यो सरकार उहाँकै हो

काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दा ‘मेरो सरकार’ भन्नुलाई अन्....

प्रधानमन्त्री ओलीले भने–राष्ट्रप्रमुख राष्ट्रपति नै भएकाले यो सरकार उहाँकै हो

काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दा ‘मेरो सरकार’ भन्नुलाई अन्यथा अर्थले बुझ्न नहुने बताएका छन्। 

शुक्रबार संघीय संसदमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर सम्बोधन गरेको भन्दै चर्को आलोचना भइरहेको छ। तर, शनिबार बिहान बालुवाटारमा सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको विषयलाई बृहत र सामूहिक अर्थमा बुझ्नु पर्ने बताएका हुन्। 

उनले भने,‘राष्ट्रपति नेपालको राष्ट्रप्रमुख हो। राष्ट्रप्रमुखले ‘मेरो सरकार’ भन्नु जायज नै हो। यसलाई अन्यथा अर्थमा बुझ्नु गलत हो।’ प्रधानमन्त्री ओलीले राष्ट्रप्रमुख राष्ट्रपति नै भएकाले सरकार राष्ट्रपतिकै भएको बताए। 

उनले भने,‘मेरो सरकार भन्नुलाई गलत रुपमा अर्थाउन खोजिएको छ। यसलाई सञ्चारमाध्यम र बौद्धिक वर्गले फराकिलो ढंगबाट बुझ्नुपर्छ। राष्ट्रप्रमुखको हैसियतमा यो सरकार राष्ट्रपतिकै हो।’ प्रधानमन्त्री ओलीले ‘मेरो सरकार’ भन्ने प्रचलन भारतसहित अन्य मुलुकमा पनि भएको तर्क गरे।
 

प्रकाशित मिति: १२:४१ बजे, शनिबार, वैशाख २१, २०७६