Kathmandu Press

फोरमले सरकार नछाड्दा तत्काल एकता गाह्रो: बाबुराम भट्टराई

काठमाडौं, बैशाख २०ः सङ्घीय समाजवादी फोरम र नयाँशक्ति पार्टीबीचको पार्टी एकता वार्ता सहमति नजिक पुगेको बताइए पनि फोरमले सरकार छाड्नुपर्ने नयाँशक्तिको अडानले एकतामा गाह्....

फोरमले सरकार नछाड्दा तत्काल एकता गाह्रो: बाबुराम भट्टराई
फाइल फोटो

काठमाडौं, बैशाख २०ः सङ्घीय समाजवादी फोरम र नयाँशक्ति पार्टीबीचको पार्टी एकता वार्ता सहमति नजिक पुगेको बताइए पनि फोरमले सरकार छाड्नुपर्ने नयाँशक्तिको अडानले एकतामा गाह्रो हुने देखिएको छ । नयाँ शक्ति पार्टीको भर्खरै सम्पन्न केन्द्रीय सचिवालय बैठकमा डा. बाबुराम भट्टराईले ‘फोरमले सरकार छाड्ने विषय प्रष्ट नहुँदा तत्काल एकता गाह्रो देखिएको’ बताएका छन् । 
पार्टीका एक सचिवालय सदस्यले दिएको जानकारीअनुसार, बैठकमा संयोजक भट्टराईले फोरम अध्यक्ष उपेन्द्र यादव पार्टी एकताअघि तत्कालै सरकार छाड्ने मनस्थितिमा नदेखिएको बताए । ‘फोरम सरकार छाड्ने मूडमा छैन, पार्टीएकता अगाडि । अहिले बलियो प्रतिपक्ष पनि होस् भन्ने हिसाबमा एकताको आवश्यकता हो । त्यसैले सरकार छाड्ने कुरा क्लियर नहुँदा एकता गाह्रो देखियो’, बैठकमा डा भट्टराईले राखेको भनाई उधृत् गर्दै ती सदस्यले जानकारी दिए ।
बैठकमा हतारमा एकता गरेर पछि पछुताउनुभन्दा केही समय लगाएर अलिक परिपक्व र पाको भएपछि एकता गर्नु राम्रो हुने भट्टराईको भनाइ थियो । पार्टी प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भट्टराईको ‘ब्रिफिङ’ उधृत् गर्दै भने, ‘अझ केही सैद्धान्तिक वैचारिक लगायतका कुराहरूमा मिलिसकेको छैन । हामीले समय लिएर राम्रो तयारी गरेर मात्र एकता गरौँ भनेको छु उहाँहरूलाई ।’
बैठकमा भट्टराईले हतारमा फोरमसँग मात्र हतारमा एकता गरेर जानुभन्दा फोरम, राष्ट्रिय जनता पार्टी, जनमुक्ति पार्टी लगायत दलहरूसँग मोर्चा बनाएर अघि बढ्न उचित हुने भट्टराईको धारणा थियो । ‘बरु अहिले फोरम, राजपा, जनमुक्ति पार्टी लगायत अन्य वैकल्पिक शक्तिहरूसँग पनि मोर्चा बनाएर जान सकिन्छ । पछि विश्वासको वातावरण र पर्याप्त छलफलपछि एकतामा पुग्नु पनि अर्को राम्रो बाटो हो’, पाण्डेले भने ।
डा. भट्टराईले फोरमसँगको पार्टी एकता वा मोर्चा कुन विकल्पमा जाने भन्नेबारे भोलिसम्म तय हुने पनि बताएका थिए । ‘हेरौँ, भोलिसम्म हाम्रो सरकारलगायत अन्य साङ्गठनिक वैचारिक केही कुरा उहाँहरूलाई प्रस्ताव राखेका छौँ । त्यसमा उहाँहरू सहमत हुनुभयो भने छिट्टै एकतामा पनि जान्छ’, भट्टराईले भनेका थिए, ‘तत्कालै एकताको माहौल बनेन भने मोर्चा बनाउनतिर जान्छ ।’

प्रकाशित मिति: १५:४३ बजे, शुक्रबार, वैशाख २०, २०७६