राष्ट्रपतिकी उम्मेदवार लक्ष्मी राईको गाउँ मोह
अब भने सक्रिय राजनीतिबाट बिदा हुने मनशाय लक्ष्मीको छ। तर, उनको एउटा इच्छा भने बाँकी छ। त्यो भनेको- भोजपुरमा कांग्रेसको विजय हेर्ने।भोजपुर, कात्तिक २२ : राष्ट्रपतिका लागि मनोनयन दर्ताको दुई दिन अघि (२०७४ फागुन २१ गते) लक्ष्मी राईको मोबाइलमा घण्टी बज्यो।
भोजपुर पोखरेस्थित आफ्नै घरमा बसिरहेकी उनले मोबाइल हेर्दा कांग्रेस सभापति शेरबहादुर देउवाको फोन आएको रहेछ। फोन उठाउने बित्तिकै देउवाले भनिहाले– ‘लक्ष्मी बहिनी तपाईंलाई पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। मनोनयन दर्ता गराउन तुरुन्त काठमाडौं आउनू।’
लक्ष्मीले आफू राजनीतिबाट अवकाश लिएर जिल्ला फर्किएको भन्दै अनिच्छा व्यक्त गरिन्। त्यसको जवाफमा देउवाले उनलाई भने, ‘सहिदकी छोरी भएर पार्टीलाई आवश्यक पर्दा पन्छिन खोज्ने?’
त्यसपछि लक्ष्मीलाई पनि आफ्नो बुवाको झलझली याद आयो र राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्न काठमाडौं जाने तयारी गरिन्। ‘सहिदकी छोरी भएर पार्टीलाई चाहिने बेलामा केही नगर्ने? भनेपछि नगएर भयो! हस् हजुर आउँछु भने,’ उनले काठमाडौंप्रेससँग भनिन्।
उनी हतार हतार राष्ट्रपतिको मनोनयन गर्ने दिन बिहान काठमाडौं पुगिन्। ‘समय कम थियो। म विमानस्थलबाट सिधैँ सिंहदरबार पुग्दा नेताहरु मलाई नै पर्खिएर बसेका रहेछन्,’ उनले भनिन्,‘नेताहरुले अहो! तपाईं आइपुग्नुभयो। हामी त आइपुग्नु हुन्न कि भन्ने चिन्तामा थियौं।’
राष्ट्रपति पदमा उनले मनोनयन दर्ता गरिन् र पत्रकाहरु माझ पुगिन्। एक जना पत्रकारले प्रश्न गरे- तपाईं हार्छु भन्ने जान्दाजान्दै किन उम्मेदवार बन्नु भएको ?
लक्ष्मीले जवाफ दिइन्–‘हार्ने र जित्ने चुनाव पछिको कुरा हो। मिराकल पनि हुनसक्छ। तपाईंहरु हेर्दै जानुस्।’
पहिलो राष्ट्रपतिको निर्वाचनमा पनि चुनाव हार्ने निश्चित भएर कांग्रेसले डा. रामवरणलाई उम्मेदवार बनाएको थियो। तर, पछि समिकरण परिवर्तन भएर यादव राष्ट्रपतिमा निर्वाचित भएका थिए।
फागुन २९ गते राष्ट्रपतिको निर्वाचन भयो। निर्वाचनमा ५१ हजार ४ सय ८२ मतभार खस्यो। राष्ट्रपतिमा निर्वाचित विद्या भण्डारीले ३९ हजार २ सय ७५ मतभार पाइन् भने राईले ११ हजार ७ सय ३०। अघिल्लो राष्ट्रपतिको निर्वाचनमा जस्तो मिराकल त भएन तर लक्ष्मीको राजनीतिक उचाइ भने बढ्यो।
निर्वाचन हारेपछि उनले पार्टी सभापति देउवासँग भेट गरिन्। लक्ष्मीलाई भेटमा देउवाले भने, ‘के गर्ने चुनाव जिताउन सकिएन।’
तर, लक्ष्मीले राष्ट्रपतिको चुनाव हारे पनि पार्टीले सम्मान गरेकोमा खुशी छन्। ‘जसले जे भने पनि मलाई राष्ट्रपति जस्तो संस्थाको उम्मेदवार बनाएर पार्टीले सम्मान गरेको हो’, उनले भनिन्।
राष्ट्रपतिमा हारेकामा कुनै हिनताबोध नभएकी उनमा राष्ट्रपति संस्थाको बेलाबेलामा हुने बदनामले भने नराम्रो महसुस हुने गरेको रहेछ। पार्टी राजनीतिमा हस्तक्षेप, सवारी खरिद लगायतका विषयमा राष्ट्रपति जोडिदा उनको मन कुडिएको रहेछ।
‘विभिन्न प्रकरणमा राष्ट्रपतिको बदनाम भएको सुन्छु। यो कुनै पदमात्रै होइन, संस्था पनि हो। संस्थाको बदनाम हुँदा नराम्रो लाग्छ,’ उनी भन्छिन्, ‘विद्याजी र म यही जिल्लाको दुवै पढे लेखेका परिवारका हौँ। त्यसैले आफ्नो धरातल विचार गरिदिए हुने। महिला भनेको आमा हो। त्यसैले उहाँ (भण्डारी) रोल मोडल हुन सक्नु पथ्र्यो। म भएको भए यस्तो गर्दिन थिएँ। मलाई सामान्य जीवन मन पर्छ।’
स्थानीय निर्वाचनदेखि नै गृहजिल्ला भोजपुरमा बस्दै आएकी लक्ष्मी अहिले यहाँकै माटोसँग रमाइरहेकी छन्। प्रकृतिसँग लुकामारी गरिरहेकी छन्। अहिले उनको दैनिकी बनेको छ– तरकारी रोप्नु, गोडमेल गर्नु, फूलको स्याहार गर्नु।
जिल्लामा हुने पार्टीका कार्यक्रममा कहिलेकाहीँ सहभागी हुन्छिन्। उमेरले ७२ टेकेकी उनलाई काठमाडौं बस्ने रहर छैन। त्यसैले त भन्छिन्, ‘अब जति बाँच्छु जिल्लामै बस्छु। मसँग भएका भिजन अरुसँग बाँड्छु।’
अब पदीय राजनीति गर्ने इच्छा उनको छैन। पदविनै पाएको मान सम्मान उनका लागि प्रिय छन्। ‘मलाई पदीय राजनीति गर्ने इच्छा छैन, अब गर्दिनँ। शुभचिन्तकले एउटा पद लिनुपर्छ भन्छन्। केन्द्रीय सदस्य हुनुपर्छ भन्छन्,’ उनले सुनाइन्, ‘तर म पदका लागि लड्दिनँ, मलाई पदविनै मेरो जिल्लाका मानिसहरुले सम्मान गर्छन्। त्यो नै मेरा लागि ठूलो कुरा हो।’
मन्त्री हुने धोको अधुरै
मन्त्री हुने र जिल्लाको विकास गर्ने उनको ठूलो इच्छा थियो। तर, पदीय राजनीति नगर्ने उनको निर्णयले त्यो इच्छा भने अधुरै रह्यो।
‘केन्द्रमा बसेर जिल्लाका लागि केही गरौँ भन्दा पनि केही गर्न नसकिने रहेछ। मन्त्रीले आफ्नो जिल्लामा योजना लैजान्छन्। माग्न गयो भने टेर्दैनन्,’ उनले थपिन्, ‘आफू पनि मन्त्री भएर योजना लैजाउ भनेको भएन। अब त मर्ने बेला भइसक्यो कहिले मन्त्री हुनु र? अहिले जे गरेको छु, त्यही राम्रो छ।’
पछिल्लो पटक शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनले मन्त्री बन्न इच्छा देखाएकी थिइन्। उनले देउवालाई भनेकी थिइन्,– दाइ मलाई पनि मन्त्री बन्ने इच्छा छ। काविल पनि छु। मन्त्री बनाउनुभयो भने चुनाव पनि लड्छु। नत्र लड्दिनँ।
देउवाले उनलाई भनेका थिए- कोशिश गर्छु। मन्त्री नबनाएपछि देउवासँग उनले फेरि सोधिन्– दाइ खोई त मन्त्री बनाउनुभएन।
जवाफमा देउवाले भने– प्रयास त गरेको हो। तर, सकिएन।
२०७४ सालको निर्वाचनका बेला देउवाले उनलाई सोधेका थिए– टिकट लिने कि समानुपातिकमा बस्ने?
लक्ष्मीले चुनाव नलड्ने जवाफ फकाइन्। जिल्लाको विकासलाई गति दिन लक्ष्मी मन्त्री बन्न चाहन्थिन्। तर, उनको इच्छा अधुरै रह्यो। ‘जुन गतिले विकास हुनुपर्ने हो, त्यो छैन। आफैँ मन्त्री बनेर थुप्रो काम गरौँ भनेको भएन,’ उनले सुनाइन्।
पार्टी झगडाले बाबुको विरासत फर्काउन नसक्दा..
नेपालको संसदीय चुनावको इतिहासमा भोजपुरमा कांग्रेसले एक पटकमात्रै विजयको झण्डा गाडेको छ। त्यो पनि २०१५ सालमा। त्यो बेला भोजपुरबाट चुनाव जित्ने नेता थिए– देवान सिंह राई अर्थात लक्ष्मीका बुवा।
त्यस यता सबै संसदीय निर्वाचनमा कांग्रेस पराजित हुँदै आएको छ। बहुदल आएपछि २०४८ सालमा २०१५ सालमा देवानसिंहको विरासत कायम राख्ने गरी पार्टीले लक्ष्मीलाई टिकट दियो। उनी तत्कालीन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनिन्।
तर, उनले बाबुको विरासत चुनाव जितेर कायम राख्न भने सकिनन्। २०५६ सालमा क्षेत्र नम्बर २ बाट लक्ष्मीले निर्वाचन लडिन्। तर, २०४८ सालकै नियति भोग्नु पर्यो।
२०७० मा भने पार्टीले उनलाई समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनायो। त्यही संविधानसभाले नै संविधान बनायो। तर, संविधानसभाको उनको अनुभव भने त्यति राम्रो रहेन।
‘छानिएका थोरै मानिसहरु त्यहाँ भइदिएको भए हुन्थ्यो। संविधान के हो भनेर नबुझ्नेको झुण्ड थियो,’ उनी भन्छिन्, ‘तोडफोड पनि त्यही समयमा भयो। एक हिसाबले भन्ने हो भने त्यहाँ संस्कार नभएका मानिसहरुको झुण्ड थियो।’
देवानसिंह भन्थे- छोरी अब कांग्रेसको सरकार बन्छ, डाँडामा गाडी गुड्छ
लक्ष्मीको जन्म छिनामखुमा २००६ सालमा भयो। उनी चार वर्षको उमेरदेखि नै गाउँकै धर्मोदय स्कुल पढ्न थालिन्।
‘मेरो आमा नपढेकाले बुबाले छोराछोरीलाई पढाउछु भन्नुहुन्थ्यो। म चार वर्षको उमेरमै स्कुल जान थालेकी हुँ,’ उनले भनिन्, ‘१३ सालमा बाजे बडा हाकिम भएर आउनुभयो। सदरमुकाम आएर विद्योदय स्कुल पढेँ। ०१४ सालमा बुवा चुनाव लड्ने भएपछि बाजेको रामेछाप सरुवा भयो। म मामा कहाँ बसेर पढेँ। ०१५ सालमा बुवाले चुनाव जितेपछि १६ वर्षमा काठमाडौं गएर सेन्ट मेरिजमा भर्ना भएकी हुँ।’
सेन्ट मेरिजमा भर्ना भएपछि उनी डेढ वर्ष होस्टलमै बस्नुपर्यो। जसका कारण उनको भेट वीपीसँग हुन पाएन। तर, वीपी पत्नी सुशीला भने सेन्ट मेरिजमा पढ्ने सुजाता कोइरालाहरुलाई भेट्न आउँथिन्।
‘सुशीला आमा हाम्रो स्कुल आउँदा हामीले निकै चाख मानेर हेर्थ्यौं,’ लक्ष्मीले विगत सम्झिइन्। लक्ष्मी स्कुल पढ्दापढ्दै वीपीसँगै उनका बुवा समेत काराबास जानुप¥यो। हरेक महिनाको २ गते बाबासँग भेट गर्न सुन्दरीजल जेलमा जान्थिन्। त्यही बेला हो– उनको वीपी, गणेशमानजी, किसुनजीसँग भेट भएको। ‘उहाँहरुले मलाई निकै माया गर्नुहुन्थ्यो,’ उनले ती दिन सम्झिइन्।
देवानसिंह वीपी कोइराला नेतृत्वको सरकारमा २०१५ सालमा मन्त्री थिए। त्यो बेलाका मन्त्रीहरु निकै शक्तिशाली हुन्थे। मन्त्री हुँदा एक पटक देवान सिंह पूर्वाञ्चल भ्रमणमा निस्किएका थिए। त्यो बेला उनले कर्मचारीलाई प्रमोशन दिन एक झोला बिल्ला बोकेर निस्किएको स्मरण लक्ष्मीले गरिन्।
उनका बुबा जेलबाट निस्कने वित्तिकै २०२३ सालमा लक्ष्मीको विवाह भयो। २०२६ सालमा उनी माइत जाँदा देवासिंह घरको बारदलीमा बसेका थिए। त्यो बेला उनले सेल्मेको डाँडातर्फ देखाउँदै लक्ष्मीलाई भनेका थिए– छोरी, अब कांग्रेसको सरकार बन्छ। यी काला डाँडामा मोटर गुड्छन्।
देवानसिंहको मोटर गुड्ने सपना तीन दशकपछि पूरा भयो। तर, उनले भने हेर्न पाएनन्। ‘बुवाले काला डाँडामा मोटर गुड्छन् भन्नुहुन्थ्यो। तर, हेर्न पाउनुभएन,’ उनी भन्छिन्।
लक्ष्मीलाई मोटर गुड्ने सपना सुनाएको तीन वर्षपछि २०२९ सालमा मोरङमा देवानसिंहको हत्या भयो। देवानसिंहले लक्ष्मीलाई सुनाए अनुसार महेन्द्रले वीपी सरकार अपदस्त गर्दा वनमन्त्री प्रेमराज आङदम्वेका पिए बलराम प्याकुरेल थिए। राजाले ‘कु’ गरे लगत्तै देवानसिंह साँगुरी भञ्ज्याङ पुगिसकेका थिए।
राजाको कदमविरुद्ध आन्दोलन गर्न भनेर हिँडेका देवानसिंहलाई उनै प्याकुरेलले चिठी लेखेर फर्काएका थिए। ‘म पनि जान्छु। तिमी फर्किएर आउ भनेर एउटा ज्यापुलाई चिठी लेखर फर्काएछ। बाबासँग साथमा पैसा रहेनछ। त्यसैले उहाँ फर्कनुभयो,’ उनले सुनाइन्, ‘बाबा फर्किएपछि त्यही साँझ उसकै घरमा भोज खुवाएछ। भोज खाँदै गर्दा आर्मीले घर घेरा हाले प्रेमराज र बाबालाई पक्राउ गरेको हो।’
पछि तीनै प्याकुरेलले कोशी अञ्चलको अञ्चालाधिश हुँदा झोरा काण्ड घटेको हो। जहाँ षड्यन्त्रपूर्वक देवानसिंहको हत्या भएको हो। ‘कांग्रेसका दोस्रो तहका नेता तह नलाएसम्म भ्याकुम नहुने निष्कर्षका साथ बाबासहित देशभर पाँच जना कांग्रेस नेताको हत्या भएको हो,’ लक्ष्मी भन्छिन्।
२०३३ सालमा वीपी मेलमिलापको नीति लिएर नेपाल नफर्किँदासम्म कांग्रेसलाई सर्भाइभ गर्न धेरै गाह्रो थियो। वीपी फर्किएपछि अवस्था केही सहज भयो। लक्ष्मीको वीपीसँग भेट भयो। वीपीसँगको भेटपछि लक्ष्मीले आफ्नो राजनीतिक यात्रा सुरु गरेकी हुन्।
२०३४ सालमा वीपीले कांग्रेस भोजपुरलाई पत्र लेखेर लक्ष्मीलाई जिल्ला कमिटीमा समावेश गर्न भनेका थिए। त्यो बेलाको भूमिगत कमिटीमा लक्ष्मी सदस्य भइन्। २०३६ सालको जनमत संग्रहमा लक्ष्मी खटिइन्। उनको कामको पछि वीपीले प्रशंसा समेत गरेका थिए। त्यसलगत्तै भएको भएको अधिवेशनमा भोजपुर कांग्रेसको कोषाध्यक्ष बनेकी थिइन्।
उनी कांग्रेस केन्द्रीय सदस्य, संविधानसभा सदस्य हुँदै राष्ट्रपतिको उम्मेदवारसम्म बनिन्। तर, अब भने सक्रिय राजनीतिबाट बिदा हुने उनको मनशाय छ। तर, उनको एउटा इच्छा भने बाँकी छ। त्यो भनेको- भोजपुरमा कांग्रेसको विजय हेर्ने।