बाबुरामलाई महन्थ–राजेन्द्रको प्रस्ताव: तत्काल मोर्चा बनाएर अघि बढौँ
काठमाडौं, वैशाख १९ : राष्ट्रिय जनता पार्टीका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोले नयाँ शक्ति पार्टीका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट....
काठमाडौं, वैशाख १९ : राष्ट्रिय जनता पार्टीका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोले नयाँ शक्ति पार्टीका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संविधान संशोधनलगायत मधेसका एजेन्डाका विषयमा मोर्चा बनाएर अघि बढ्न प्रस्ताव गरेका छन्।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पार्टी एकताको सहमतिको नजिक पुगेका डा भट्टराईले राजपालाई पनि छलफलका लागि डाकेका हुन्।
नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार राजपा अध्यक्ष मण्डलका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोसँग भएको वार्तामा भट्टराईले समान एजेन्डा भएका पार्टीहरूबीच एकता गरेर अघि जान प्रस्ताव गरेका थिए। विशेष गरी मधेसका मुद्दामा समान धारणा राख्ने डा भट्टराईले राजपासँग पार्टी एकता गर्न सकिने धारणा राखेका थिए।
बैठकमा नेता ठाकुरले तत्काल पार्टी एकता सम्भव नहुने बताउँदै तत्काल मोर्चा बनाएर सरकारलाई दबाब दिन सकिने बताएका थिए। नयाँ शक्तिका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भने, ‘तत्काल मोर्चा बनाएर जाऔँ भन्ने उहाँहरूको कुरा थियो। छलफललाई निरन्तरता दिँदै सहकार्य गरेर अघि बढ्नेबारे छलफल भयो।’
खास गरी फोरमसँग एकताको नजिक पुगेका बेला राजपालाई चाहिँ बेवास्ता गरेको नदेखियोस् भनेर डा भट्टराईले राजपा नेतालाई पनि छलफलका लागि डाकेका थिए। डा भट्टराईले मधेस केन्द्रित दलले चर्को रूपमा उठाउँदै आएको संविधान संशोधनका मुद्दामा समान धारणा राख्दै आएका छन्।






