प्रविधिको गलत उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तैः प्रधानमन्त्री
काठमाडौं, वैशाख १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजले सूचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताएका छन्।
राष्ट्रि....

काठमाडौं, वैशाख १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजले सूचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताएका छन्।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसक बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा केही वर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने भएपनि अहिले यो अत्यावश्यक वस्तु भइसकेको बताए।
‘केही वर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरु अनौठो मान्थे तर, अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो,’उनले भने,‘मोबाइलसँग जोडिएको प्रविधि हाम्रो अभिन्न अंग भइसक्यो। यो डिजिटल नेपालतर्फको यात्रा हो।’
प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताए। ‘प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्दछ,’ प्रधानमन्त्रीले भने,‘प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ। त्यसको सदुपयोग गर्नु पर्दछ।’ वर्तमान समयमा प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यमका रुपमा प्रयोग भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।
‘सामाजिक सञ्जाल र सूचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो,’उनले भने,‘त्यसकारण यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानु पर्दछ।’ प्रविधिको प्रयोगमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सहज बन्ने प्रधानमन्त्री ओलीको भनाइ छ।











