Kathmandu Press

थानकोट-चापागाउँ प्रसारण लाइनमा स्थानीयकाे अवरोध, ललितपुरमा लोडसेडिङ हुन सक्ने

काठमाडौं, वैशाख १९ : काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनमा ल....

थानकोट-चापागाउँ प्रसारण लाइनमा स्थानीयकाे अवरोध, ललितपुरमा लोडसेडिङ हुन सक्ने

काठमाडौं, वैशाख १९ : काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनमा ललितपुरका बासिन्दाले अवरोध गरेका छन्।

स्थानीय बासिन्दाको अवरोध गरेपछि ललितपुरमा लोडसेडिङ हुन सक्ने नेपाल विद्युत प्राधिरकणले चेतावनी दिएको छ। विद्युतको माग बढिरहेको र अहिले विद्युत आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हुँदा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने वाध्यात्मक अवस्था आउन लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले बताए।

आर्थिक वर्ष २०५५/५६ बाट सुरु भएको थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजनाको ललितपुर खण्डमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन्।ललितपुरको खोकना, बुङ्मती, हरिसिद्धी र लामाटार क्षेत्रका बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गरेका छन्। उनीहरूको अवरोधले प्रसारण लाइन बन्न सकेको छैन्। काठमाडौं र भक्तपुरतर्फको निर्माण भने सकिएको प्राधिरकणले जनाएको छ।

स्थानीयको अवरोधले निर्माणमा अवरोध हुँदा प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चेतावनी दिएका हुन्। बुधबार आयोजनास्थलको निरीक्षण गरेका घिसिङले स्थानीयले अवरोध गरेको खोकना, बुंमती, चापागाउँ र हरिसिद्धी क्षेत्रमा प्रसारण लाइन निर्माण अवस्थाको जानकारी लिएका थिए।

यो प्रसारण लाइन निर्माण सम्पन्न भएमा काठमाडौं–ललितपुर र भक्तपुरमा १३२ केभीको प्रसारण लाइनको रिङ बन्ने घिसिङले बताए। यसले आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर पनि सुधार हुने उनको भनाइ छ। अहिले यो क्षेत्रमा स्यूचाटार–पाटन–वानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ।

ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन गर्नु पर्ने, त्यसो नभएमा तारमुनि पर्ने जग्गाको शत्प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति दिनु पर्नेलगायतका माग राखेका छन्।

 

प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, वैशाख १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्