भारतमा आठ लाखले घर छोड्दै, भोलि पूर्वी नेपाल नजिक पुग्ने
काठमाडौं, वैशाख १९ : बंगालको खाडीमा शक्तिशाली चक्रबात फनी सुरु भएको छ। यसबाट बच्न भारतमा लाखौ बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएकाे छ भने भाेलि ....
काठमाडौं, वैशाख १९ : बंगालको खाडीमा शक्तिशाली चक्रबात फनी सुरु भएको छ। यसबाट बच्न भारतमा लाखौ बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएकाे छ भने भाेलि पूर्वि नेपाल नजिक पुग्ने जनाएकाे छ।
अहिले बंगालको खाडीको मध्यभागमा रहेको फनी विस्तारै उत्तर–पूर्वि दिशातर्फ लाग्न थालेको छ। यो भारतको ओडिसाहुँदै उत्तर–पूर्वि दिशातिर लाग्ने अनुमान गरिएको छ।
यो शुक्रबार पूर्वि नेपालको नजिक पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको असर पूर्वि नेपालमा पनि सामान्य पर्ने जनाएको छ।
भारतको ओडिसा राज्यमा यसको असर व्यापाक हुने अनुमान गरिएको छ। बंगालको खाडीमा सुरु भएसँगै ओडिसाको गोपालपुर, चाँदबलीलगायतका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
भारतीय मिडियाका अनुसार, बिहीबारसम्म आठ लाख बासिन्दालाई सुरक्षित स्थानमा सारिन लागिएकाे छ। ओडिसाका मुख्यमन्त्री नवीन पटनायकको अध्यक्षतामा बसेको उच्च स्तरीय बैठकले स्वास्थ्यकर्मीको विदा रद्द गरेको छ। दुई सातासम्म स्वास्थ्यकर्मीलाई विदा नदिइने भएको छ। उनीहरूलाई आपतकालिन अवस्थाका लागि तयारी अवस्थामा राखिएको जनाएको छ।
त्यस्तै, ओडिसामा सुरक्षाकर्मीका जहाज र हेलिकप्टर पनि तयारी अवस्थामा राखेको छ। यहाँका एघार जिल्ला प्रभावित हुने भएकाले जतिबेला पनि परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको हो।
त्यस्तै, भारतको आन्ध्र प्रदेशमा भने वर्षा सुरु भएको छ। यो क्षेत्रमा एक सय ७५ देखि दुई सय किलोमिटर प्रतिघण्टाका दरले फनी आउने अनुमान गरिएको छ।
यसको प्रभावबाट जोगिन एक सय तीन रेलको समयतालिका रद्द गरिएको छ। आज र भोली रेल बन्द रहने छन्।
फनीको आपतकालिन उद्दारका लागि आन्ध्र प्रदेशमा ४१, ओडिसामा २८ र बंगालमा पाँच टिम तैनाथ गरिएको छ।
फनी चक्रबातको प्रभाव पर्ने तीनै राज्यका विद्यालय बन्द गरिएका छन्। तटीय क्षेत्रभन्दा टाढा बस्न स्थानीय बासिन्दालाई सूचित गराएको छ।
यसका नेपालमा भने खासै प्रभाव नपर्ने जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, भोलि र पर्सि पूर्वि र मध्यक्षेत्रमा वर्षा हुने छ। केही स्थानमा मेघ गर्जनसहित वर्षा र हावाहुरी चल्ने जनाएको छ। आइतबारदेखि भने मौसम सफा रहने अनुमान गरिएको छ।






