बंशजका आधारमा वितरण गरिएका तीन सय नागरिकता खारेज
बाँके, वैशाख १९ : बाँकेमा वंशजका आधारमा वितरण गरिएका तीन सय नागरिकता खारेज गरिएका छन्। जिल्ला प्रशासन कार्यालयले रझेना, खजुराखुर्द र मनिकापुरकामा वितर....

बाँके, वैशाख १९ : बाँकेमा वंशजका आधारमा वितरण गरिएका तीन सय नागरिकता खारेज गरिएका छन्। जिल्ला प्रशासन कार्यालयले रझेना, खजुराखुर्द र मनिकापुरकामा वितरण गरिएको नागरिकता खारेज गरेको हो।
सर्वोच्च अदालतले तराई मधेसमा कानूनविपरीत वितरण गरिएका ३४ हजार नागरिकतालाई प्रचलनमा नल्याउन अन्तरिम आदेश जारी गरेपछि बाँकेका तीन सय नागरिकता पनि खारेज गरिएको प्रमुख जिल्ला अधिकारी मनद भुजेलले बताए। ‘एक हजार आठ सय १८ नागरिकतामध्ये अधिकांश फिर्ता भइसकेको पाइयो। बाँकी पनि खारेज गरिएको छ,’ उनले भने।
२०५४ मा आयोग गठन गरी जिल्लाजिल्लामा टोली खटाएर नागरिकता वितरण गरिएको थियो। ति नागरिकता गैरकानूनी भएको भन्दै सर्वोच्चले २०५८ मा रद्द गर्ने फैसला गरेको थियो।
फैसला कार्यान्वयन नभएको भन्दै एक साताअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले नागरिकता वितरणमा रोक लगाउन पुनः आदेश जारी गरेपछि टोलीमार्फत वितरित नागरिकता रद्द गर्न थालेको हो।
रद्द गरिएका नागरिकताबारे आवश्यक सोधपुछ र प्रमाणका आधारमा पुनः कायम गर्न सकिने प्रजिअ भुजेलले बताए। (रासस)











