एसियाली हवाइ उडानका सफलता र दुर्घटनाहरू
सन् २०३७ सम्म विश्वभरिका हवाइ यात्रुको संख्या दोब्बर बढेर आठ अर्ब २० करोड पुग्ने अन्तर्राष्ट्रिय हवाइ यातायात संघ (आइएटिए) ले अनुमान गरेको छ। यसमा अधिकांश हिस्सा एसिया....
सन् २०३७ सम्म विश्वभरिका हवाइ यात्रुको संख्या दोब्बर बढेर आठ अर्ब २० करोड पुग्ने अन्तर्राष्ट्रिय हवाइ यातायात संघ (आइएटिए) ले अनुमान गरेको छ। यसमा अधिकांश हिस्सा एसिया–प्रशान्त क्षेत्रको हुनेछ। सन् २०३० सम्म एसिया–प्रशान्त क्षेत्रले (उत्तर अमेरिका र युरोप) विश्वका दुई ठूला उड्डयन बजारको संयुक्त यात्रु संख्याभन्दा धेरैलाई सेवा दिने अपेक्षा गरिएको छ।
वृद्धिको कारण
वृद्धिको केन्द्रमा चीन छ। सन् २०२० को मध्य–दशकतिर विश्वकै सबैभन्दा ठूलो यात्रु बजार–अमेरिकालाई चीनले पछि पार्ने पूर्वानुमान गरिएको छ। भारत र इन्डोनेसिया सन् २०२४ र २०३० मा क्रमशः तेस्रो र चौथो स्थानमा हुनेछन्। सन् २०३० सम्म थाइल्यान्ड पनि शीर्ष दश बजारको सूचीमा समावेश हुने आइएटिएको प्रक्षेपण छ।
इन्डोनेसियाको घरेलु ‘एयरलाइन’ बजार अहिले विश्वकैं पाँचौं ठूलो हवाइ बजार हो। देशको सबैभन्दा ठूलो विमानस्थल सञ्चालक जकार्ताको सुकार्नाे–हात्ता इन्टरनेसनल एयरपोर्ट विस्तार गर्न अर्बाैं डलर खर्च गर्ने योजनामा छ। सिएपिए सेन्टर फर एभियसनले जनाए अनुसार सन् २०१७ मा दक्षिणपूर्वी एसियामा हवाइ यात्रुको चाप १० प्रतिशतले बढेको छ।
क्षेत्रका ६ वटा बजार–क्याम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनाममा हवाइ यात्रुको संख्या वृद्धि कम्तिमा पनि तीन वर्षसम्म दोहोरो अंक वा दोहोरो अंक नजिक पुगेको सिएपिएले जनाएको छ। पर्यटनले भियतनामको उड्डयन क्षेत्रमा नाटकीय वृद्धि ल्याइरहेको छ। देशको जेट इन्धनको माग हालसम्मकै उच्च हुनेछ र विदेशी पर्यटकको वृद्धिसँगै एयरलाइन पनि विस्तार भइरहेकै छन्।
भियतनामका एयरलाइनलाई हालै मात्र अमेरिकाको सिधा उडान अनुमति दिइएको छ। उनीहरूले अमेरिका वायुसेवासँग ‘कोड–सेयर’ गर्न पाउनेछन्।
उसो भए किन घाटामा एयरलाइन्स?
‘फूल–सर्भिस क्यारियर’ले तीव्र विस्तार भइरहेका ‘लो–कस्ट’ अर्थात सस्ता सेवा प्रदायकबाट ठूलो प्रतिस्पर्धा झेलिरहेका छन्। दक्षिणपूर्वी एसियाका सार्वजनिक कारोबार हुने २० वटा कम्पनीमध्ये मात्रै ६ वटाले जुलाईदेखि सेप्टेम्बर २०१८ सम्म नाफा कमाए।
इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम र फिलिपिन्सको ३० देखि ४० प्रतिशत अन्तर्राष्ट्रिय सिट क्षमता यस्तै ‘बजेट एयरलाइन्स’ले ओगट्छन्। मलेसियाको आधा बजार लो–कस्ट एयरलाइन्सले लिएका छन्।घरेलु र अन्तर्राष्ट्रिय ‘रूट’मा आवश्यकताभन्दा बढी क्षमता भएकाले पनि दक्षिणपूर्वी एसियाली एयरलाइन्सको आम्दानी घटेको हो।
एसियाली उड्डयनका दुर्घटनाहरू
मलेसिया एयरलाइन्सले हालै मात्र चार महिनाको अन्तरालमा दुई ‘ट्राजेडी’ सहेको छ। क्वालालम्पुरबाट बेइजिङ उडेको एमएच ३७० मार्च ८, २०१४ मा बेपत्ता भयो। विमान उडेको एक घण्टाभन्दा कम समयमा दुई सय ३९ यात्रु बोकेको उक्त बोइङ ७७७ ‘एयर ट्राफिक कन्ट्रोल’ सँग सम्पर्कविहीन भयो। विपद्का कुनै संकेत वा सन्देश पठाइएन।
सैन्य ‘रेडार’ ले उक्त विमान योजना विपरीत उत्तरपूर्वी रूटबाट मले प्रायद्वीपपारी पश्चिमतिर मोडिएको देखायो। इन्धन सकिएपछि भारतीय महासागरमा दुर्घटनाग्रस्त भएको हुनसक्ने विश्वास गरिएको छ। मलेसिया, चीन र अष्ट्रेलिया सरकारले जनवरी २०१७ मा खोजीकार्य अन्त्य गर्यो। दुई वर्षसम्म गरिएको विमानको अनुसन्धानमा १६ करोड अमेरिकी डलर खर्च भयो। तर विमान बेपत्ता हुनुको कारण वा विमान भएको स्थान ठ्याक्कै पत्ता लागेन।
ओसन इन्फिनिटी नामक अमेरिकी कम्पनीले ‘नो फाइन्ड–नो फि’ शर्तको आधारमा एमएच ३७० को भग्नावशेष पत्ता लगाउने दोस्रो प्रयास ग¥यो। निजी लगानीमा तीन महिनासम्म गरिएको खोजी कार्यले विमानको नाम–निशान पत्ता लगाउन नसकेपछि पोहोर मेमा बन्द गरियो। एमएच३७० बेपत्ता भएको घटना अभैm रहस्यमा छ।
एम्स्टर्ड्यामबाट क्वालालम्पुर उडेको एमएच १७ लाई जुलाई १७, २०१४ मा ‘मिसाइल’ प्रहार गरेर खसालियो। विमानमा सवार दुई ९८ यात्रु सबै मारिए। पूर्वी युक्रेनको सशस्त्र रूसी पृथक्तावादी नियन्त्रित क्षेत्रमा विमान खस्यो।
कुस्र्कमा तैनाथ रूसको ५३ औं ‘एन्टि–एयरक्राफ्ट मिलिटरी ब्रिगेड’बाट आएको ‘बुक मिसाइल’ प्रहार गरेर विमान खसाइएको अनुसन्धाताहरूको एउटा अन्तर्राष्ट्रिय समूहले निष्कर्ष निकाल्यो। पृथक्तावादी लडाकूबीच भएको ‘इन्टरसेप्टेड कम्युनिकेसन’ ले विद्रोहीले उक्त नागरिक विमानलाई भुलवश युक्रेनको सैन्य जेट ठानेको इंगित गर्यो। सो घटनामा कुनै संलग्नता नभएको क्रेम्लिनले बारम्बार दोहो¥याउँदै आएको छ। युक्रेनले नै आक्रमण गरेको क्रेम्लिनको आरोप छ।
अक्टोबर २९, २०१८ मा जकार्ताबाट उडेको केही बेरमै लायन एयरको जेटि ६१० सिधै ‘जाभा’ सागरमा खस्यो। विमानमा सवार एक सय ८९ यात्रु सबै मरे। एयरलाइनको ‘सेफ्टी रेकर्ड’मा दाग छ। दुई महिनादेखि सञ्चालित उक्त बोइङ ७३७ म्याक्स ८ को अघिल्लो उडानमा प्राविधिक समस्या भएको र उडानको अनुमति दिनुअघि विमानको मर्मतकार्य सम्पन्न भएको एयरलाइनले बतायो।
तर ‘ब्ल्याक बक्स’को तथ्याङ्कले लगातार तीन उडानमा ‘एयर स्पिड इन्डिकेटर’मा समस्या भएको देखायो। यातायात सुरक्षा हेर्ने इन्डोनेसियाली निकायले उक्त विमान उडाउन मिल्ने अवस्थामा नभएको र अन्तिम उडानपछि विमानलाई निषेध गनुपर्ने अवस्थामा भएको जनायो। पाँच महिनाको अन्तरालमा ७३७ म्याक्स ८ दोस्रो दुर्घटनामा परेपछि विश्वभरका एयरलाइनले उक्त विमान उडाउन निषेध गरेका छन्।