नेपाल–चीन पारवाहन सम्झौताः अब नेपालको पहुँच दक्षिण एशिया र युरोपसम्म
काठमाडौं, वैशाख १८ : नेपालले अब चीनका बन्दरगाहबाट सामान आयात र निर्यात गर्न सक्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्र....

काठमाडौं, वैशाख १८ : नेपालले अब चीनका बन्दरगाहबाट सामान आयात र निर्यात गर्न सक्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा दुई देशबीच यातायात तथा पारवाहन सम्झौता कार्यान्वयनका लागि आवश्यक कार्यविधि ‘प्रोटोकल’ मा हस्ताक्षर भएसँगै नेपालले अब चीनका सबै खुला सामुद्रिक बन्दरगाह प्रयोग गर्न सक्नेछ। त्यो सँगसँगै अब नेपालका लागि जापान, दक्षिण कोरिया लगायतका दक्षिण एशिया र युरोपेली देशसँग पुग्ने व्यापारिक पहुँच सहज भएको छ।
यसअघि २०७२ को चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार तथा पारवाहन सम्झौतामा हस्ताक्षर गरेका थिए। हस्ताक्षरसँगै तत्कालका लागि नेपालले तियान्जेन, सेनजेन, लियानयुंगाङ र झाङजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह तथा लान्चाओ, ल्हासा र सिगात्से सुख्खा बन्दरगाह प्रयोग गर्न सक्नेछ। यातायात तथा पारवाहन प्रोटोकलमा भएको सम्झौताले रसुवा, कोदारी, किमाथांका, नेचुङ, यारी र ओलाङ्चुङगोला गरी ६ वटा नाकामार्फत ढुवानीको बाटो पनि खोलिदिएको छ।
चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीको नाकाबाट अहिले केरुङसम्म मात्रै नेपाली ढुवानीकर्ताहरुको पहुँच छ। सम्झौतासँगै रसुवागढीबाट केरुङ हुँदै सिगात्सेसम्म पहुँच बनेको छ। चीनको अर्को बन्दरगाह लान्झाओबाट सिगात्सेसम्म रेल आउनेछ भने लान्झओमै पुगेर नेपालले सामान लिन पाउनेछ।
लान्झाओबाट फिनल्याण्डसम्म सिधै रेलको पहुँच उपलब्ध छ। जसका कारण फिनल्याण्ड हुँदै स्वीडेन, नर्वे लगायत युरोपतिरको पहुँचमा पनि सहजता भएको छ। चिनियाँ बन्दरगाह प्रयोग गर्दा दक्षिण कोरिया, जापान र रुस पनि नजिक पर्छ। यसमध्ये धेरै व्यापारिक कारोबार हुने जापानसँग हुने दुई पक्षीय कारोबारमा सहज हुन्छ।
अहिले भारतको हल्दियामा सामान पु¥याएर अन्यत्र सामान पठाउने गरिन्छ। चीनका खुला सुख्खा बन्दरगाहसम्मको पहुँचले नेपाली व्यापारलाई निकै सहज हुने कुटनीतिज्ञ टंक कार्की बताउँछन् उनले भने, ‘यसले भारतसँगको व्यापारिक नाकाको विल्कल्प दिएको छ। मध्य एशियासँगका देशसँगको पहुँचमा सहज हुनेछ।’
अर्थ विश्लेषक रामेश्वर खनालले मध्य एशिया तथा युरोपसँगको व्यापारिक पहुँचमा निकै महत्वपूर्ण भूमिका खेल्ने भएकाले यो निकै महत्वपूर्ण कदम भएको बताए। ‘यो सम्झौता निकै महत्वपूर्ण छ। यसको कार्यान्वयनका लागि कम्तीमा एक वर्ष लाग्न सक्छ। किनभने, नेपालीहरुले अहिलेसम्म चीनसँग मात्रै कारोबार हुने गरेका हुन्,’उनले भने,‘चीनको बाटो भएर व्यापार गरेका छैनन्। अब बाहिर मुलुकसँग कारोबार गर्नका लागि प्रक्रिया मिलाउनुपर्ने हुन्छ।’
उनका अनुसार अब त्यहाँका रेल्वेसँग सम्झौता गर्नुपर्छ। ‘अब हामीले हामीले बन्दरगाहमा ठाउँ लिनुपर्छ। यी कामहरु गर्नु पर्ने भएकाले कार्यान्यवन हुनलाई झण्डै एक वर्ष लाग्नेछ,’खनालले भने।











