सरकारले श्रमिकका भावनालाई सम्बोधन गर्न सकेन: थापा
काठमाडौं, वैशाख १८: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले श्रमिकको भावनालाई सम्बोधन गर्न नसकेको बताएका छन्।
....
काठमाडौं, वैशाख १८: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले श्रमिकको भावनालाई सम्बोधन गर्न नसकेको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको श्रमिक सङ्गठन ट्रेड युनियन महासङ्घ (टुकोन) नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा उनले सरकारको गतिविधिले आम श्रमिकहरुमा असन्तुष्टि पैदा हुँदै गएको आरोप लगाए। “श्रमिकको हक, हित स्वार्थको रक्षाका निमित्त राप्रपा नेपाल लड्ने बेला आएको छ”, उनले भने।
अध्यक्ष थापाले वालुवाटार जग्गा प्रकरणमा जोकोही दोषी भए पनि कारवाही हुनुपर्ने स्पष्ट पारे। स्थानीय तहमा आफ्नो सङ्गठन विस्तारमा पार्टीका श्रमिक सङ्गठन लाग्न कार्यकर्ताहरुलाई थापाले निर्देशन दिए।
कार्यक्रममा राप्रपाका वरिष्ठ नेता दीपक बोहराले श्रमिकको पक्षमा कुनै पनि राजनीतिक दल आबद्ध श्रमिक सङ्गठनले काम गर्न नसकेको बताए। “नेपालका श्रमिकको समस्या समाधानमा लाग्नुभन्दा श्रमिक नेता विदेश गएर रमाउने गरेका छन्”, उनले भने। नेता बोहराले श्रमिकको पक्षमा पार्टी नै लड्नुपर्ने बेला आएको बताए।











