Kathmandu Press

देश संघीय, तर जलेको उपचार भने काठमाडौंमा मात्रै

काठमाडौं, वैशाख १८ : आगोले आधा शरीर जलेकी धनुषाकी निर्मला यादवको यसै साता उपचार हुँदाहुँदै मृत्यु भयो। सिरहाकी कञ्चन मण्डलको पनि गत साता जले....

देश संघीय, तर जलेको उपचार भने काठमाडौंमा मात्रै
इन्द्रसरा खड्का

काठमाडौं, वैशाख १८ : आगोले आधा शरीर जलेकी धनुषाकी निर्मला यादवको यसै साता उपचार हुँदाहुँदै मृत्यु भयो। सिरहाकी कञ्चन मण्डलको पनि गत साता जलेको उपचारकै क्रममा मृत्यु भएको थियो। 

निर्मला र कञ्चनबीच धेरै समानताहरू छन्। दुबै मधेसकी छोरी–बुहारी हुन्। दुबै आफ्नै पतिद्वारा जलाइए। दुबैका श्रीमान् ‘पर्याप्त दाइजो’ नपाएको रीसले मुर्मुरिँदै आएका थिए।

तर, निर्मला र कञ्चनबीचको समानता यतिमै सीमित छैन। उनीहरूबीच अर्को समानता पनि छ। त्यो हो – दुबैको मृत्यु काठमाडौंमा भयो। 

अर्थात्, निर्मला र कञ्चनको उपचार आफ्नै सहर वा प्रदेशमा सम्भव भएन । र, उनीहरूलाई संघीय राजधानी नै ल्याउनु पर्‍यो। 

एम्बुलेन्सको लामो यात्रापछि काठमाडौं आउँदा उनीहरूका घाउ पाकेर फ्यात्त भइसकेका थिए। जलेको घाउहरूले शरीरका भित्री अङ्गहरूलाई पनि असर पुर्‍याइसकेका थिए। 
डाक्टरहरूले उपचार गर्ने प्रयास गरे। तर, न निर्मला बाँचिन्, न कञ्चन नै।

आगोले पोलेको घाउमा अस्पताल नपुगेसम्म चिसो पानी हालिरहनुपर्छ। तर, निर्मला र कञ्चनको जलेको शरीरमा चिसो पानी हालिएन। स्थानीय डाक्टरहरूले पट्टी मात्रै बाँधिदिए, जसले घाउ झन् पाक्यो। र, उनीहरू बाँच्ने सम्भावना झन् न्यून भयो। 

नेपाल संघीय देश भइसक्यो। तर, अझै पनि जलेको घाउको उपचार काठमाडौंमा मात्रै हुन्छ। देशको दूरदराजमा बस्ने नेपालीहरू पनि जलेको उपचारका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता छ। लामो यात्रा गरेर काठमाडौं आउँदा उपचारमा धेरै ढिलाई भइसकेको हुन्छ। 

गत भदौमा रौतहटकी १८ वर्षीया सम्झना दासको शरीरमा छिमेकी रामबाबु पासवानले तेजाब खन्याइदिए। आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै पासवानले सम्झनामाथि तेजाब प्रहार गरेका थिए।

सम्झनालाई उपचारका लागि कीर्तिपुर अस्पताल ल्याउँदा १३ घण्टा भइसकेको थियो। त्यस बेलासम्म सम्झनाको शरीर लगभग पूरै डढिसकेको थियो। डाक्टरहरूले उनलाई बचाउन सकेनन्। 

स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयद्वारा सन् २०१७ मा प्रकाशित एक प्रतिवेदनअनुसार नेपालमा वर्षेनि  ५५ हजारभन्दा बढी नागरिक जल्ने गरेका छन्। तीमध्ये दुई हजारभन्दा बढी बाँच्दैनन्। र, त्यसको एउटा मुख्य कारण हो – जलेको उपचार गर्ने अस्पताल र विशेषज्ञ डाक्टरहरू सबै प्रदेशमा नहुनु। 

शरीरको ३० प्रतिशतभन्दा बढी भाग गहिरो गरी जलेको छ भने अनिवार्य शल्यक्रिया गर्नुपर्छ। शल्यक्रिया गर्दा जलेको छाला सबै फाल्नुपर्छ। र, नयाँ छाला प्रत्यारोपण गर्नुपर्छ। 

शरीरको थोरै भाग मात्रै जलेको भए अर्को ठाउँबाट छाला झिकेर प्रत्यारोपण गर्न सकिन्छ। तर, ३० प्रतिशतभन्दा धेरै जलेकाहरूको शरीरको अर्को ठाउँबाट छाला झिक्न सकिँदैन।

नेपालमा छाला दान गर्ने चलन छैन। भारतबाट छाला आयात गर्नु महङ्गो र झञ्झटिलो हुन्छ। निर्मला यादवको पनि छाला प्रत्यारोपण गर्नुपर्ने भएको थियो। उनको गर्दनदेखि मुनिको भाग प्रायः सबै जलेको थियो। तर, उनको परिवारले यति छोटो समयमा पैसा जुटाएर भारतबाट छाला झिकाउन सकेन।

काठमाडौंबाहिर त उपचार छैन नै, काठमाडौंमै पनि राम्रो उपचार व्यवस्था छैन। शरीरको ५० प्रतिशतभन्दा धेरै भाग जलेकाहरूलाई बचाउन अहिलेको स्रोत र जनशक्तिले सम्भव नहुने कीर्तिपुर अस्पतालमा कार्यरत डा. अपार लामिछाने बताउँछन्।

काठमाडौंभित्र वीर अस्पताल, सुष्मा कोइराला मेमोरियल अस्पताल, केएमसी अस्पताल, कीर्तिपुर अस्पताल र शिक्षण अस्पतालमा बर्न वार्ड छन्। यी अस्पतालमा जलेका बिरामीहरूको छुट्टै उपचार हुन्छ। तर, तिनै अस्पतालमा पनि दक्ष जनशक्ति र प्रयाप्त स्रोतसधन छैन।

काठमाडौंबाहिर पाल्पा र नेपालगञ्जमा मात्रै बर्न वार्डहरू छन्। तर, त्यहाँ पनि जलेका बिरामीको सघन उपचार सम्भव छैन। अस्पतालका बर्न तथा प्वालास्टिक सर्जरी विभाग (बिपीएसडी) प्रमुख डाक्टर शंकर राईले बताए ।

‘पहिलो चिसो पानी खन्याउनूस्’

डा. शंकर राई, बर्न तथा प्लास्टिक सर्जरी विभाग प्रमुख, कीर्तिपुर अस्पताल

आगोले जलेका बिरामीहरूले नेपालमा सही उपचार पाइरहेका छैनन्। धेरैलाई आगोले जलेको बिरामीलाई अस्पताल लैजानुअघि कस्तो प्राथमिक उपचार चाहिन्छ र अस्पताल पुर्‍याइएको २४ घण्टाभित्र के गर्नुपर्छ भन्ने ज्ञान छैन। यसैले, आगोले जलेका धेरै बिरामीहरूको ज्यान गइरहेको छ।

जलेको घाउमा ३० मिनेटसम्म चिसो पानी राख्नुपर्छ । भाँडामा जलेको भाग डुबाउनुभन्दा धाराको पानीमा घाउ हालेर चिस्याउनु उत्तम हुन्छ। धारा छैन भने भाँडाकै पानीलाई पनि धारा जस्तै गरी जलेको भागमा खन्याउनुपर्छ। 

त्यसपछि नजिकैको स्वास्थ्य संस्थामा लगेर सलाइन पानी दिनुपर्छ। २४ घण्टासम्म यत्ति गर्न सक्ने हो भने पनि जलेका धेरै बिरामीलाई बचाउन सकिन्छ। 

जल्ने बित्तिकै पानी नहाली र सलाइन पानी समेत नदिई हतारमा काठमाडांै कुदाउने प्रवृत्ति धेरैमा छ। यसले घाउ झन बिग्रिन्छ र बिरामीलाई बचाउने सम्भावना कम हुन्छ। यस विषयमा जनतालाई बुझाउन आवश्यक छ। 

जिल्लाबाहिरका बिरामीलाई तुरुन्तै काठमाडौं पुर्‍याउने साधन भनेको एम्बुलेन्स हो। एम्बुलेन्सबाट पनि सुदूर पूर्व र सुदूर पश्चिमका बिरामीलाई काठमाडौं ल्याउन एक दिनभन्दा बढी  लाग्छ। आठ–नौ घण्टा एम्बुलेन्समा राखेर काठमाडौं ल्याउँदा शरीर सुकिसक्छ। घाउ बिग्रिसक्छ। उपत्यका बाहिर जलेको उपचार गर्ने अस्पताल नहुँदा धेरै समस्या भइरहेको छ। 

प्रकाशित मिति: १५:३४ बजे, बुधबार, वैशाख १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्