दशैंमा गाउँघरलाई काेराेनाकाे संक्रमणबाट जाेगाउने कस्तो छ स्थानीय सरकारको तयारी?
दशैंका लागि काठमाडौंलगायत देशका विभिन्न शहरबाट सर्वसाधारण गाउँ फर्किरहेका छन्। दशैंसँगै गाउँमा कोरोना संक्रमण फैलिने जोखिम पनि बढेको छ।
काठमाडौं, कात्तिक ७ : नेपालीहरुको महान चाड दशैं तिहारको लागि उपत्यका तथा शहरी क्षेत्रमा बसोबास गर्नेहरु गाउँ फर्किन थालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अतिआवश्यक कामबाहेक हिडडुल नगर्न भनेपनि मानिसहरुको चहलपहल कम भएको छैन। दैनिक थपिने कोरोना संक्रमितको आधा संख्या उपत्यकामा नै भेटिन थालेका छन्।
उपत्यकाबाट दशैं मनाउन जानेहरुले स्वास्थ्य मापदण्ड पालना नगरे गाउँ पनि उपत्यकाजस्तै बन्न सक्ने विज्ञहरुको भनाई छ। ‘उपत्यकाबाट गाउँ जाने दशैं लिएर होइन, कोरोना लिएर छिर्दैछन्,’ बरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्।
अहिले राजधानी छोडेर गाउँ जानु कोरोना लिएर जानुजस्तै भएको उनीको भनाइ छ। उनी भन्छन्, ‘विमानबाट जानेहरुले पिसिआर परिक्षण गरेपनि सवारी साधनबाट गाउँ जानेहरुले परीक्षण गरेका छैनन्, त्यस्तैले अहिले राजधानी छोडेर गाउँ जानु कोरोना लिएर जानुजस्तै हो।’
उनका अनुसार उपत्यकामा बसोबास गर्नेहरु ७० प्रतिशतलाई कोरोना संक्रमण भईसकेको छ। ‘कोरोना संक्रमणको लक्षण ४० प्रतिशतलाई देखिएको छैन,’ उनी भन्छन, ‘लक्षण नदेखिएको व्यक्ति गाउँ जाँदा गाउँमा कोरोना पुग्छ।’
स्थानीय सरकारले भने दशैंमा घर आउने नागरिकलाई सुरक्षित राख्न केही स्वास्थ्य मापदण्ड अपनाएको नदेखिएको उनकोे भनाइ छ।
उपत्यका तथा बैदेशिक रोजगारीबाट गाउँ फर्किएकाहरु गाउँ प्रवेश गरेपछि स्वास्थ्य मापदण्ड पालना नगरिरहेको स्थानीय तहले जनाएका छन्। केही स्थानीय तहले आफुले चाडपर्वको समयमा सचेत गराउनेबाहेक अन्य केही तयारी नभएको बताएका छन्।
गाउँका घरहरु सामाजिक दूरी कायम गरेर बनेका हुन्छन् : मेलम्चीका मेयर
प्रायः गाउँमा उपत्यकामा जस्तो बाक्लो घरहरु हुँदैनन्। गाउँका घरहरु सामाजिक दूरी कायम भएरै बनेका हुन्छन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर डम्बरबहादुर अर्याल गाउँघरमा बाक्लो बस्ती नभएकाले पनि जोखिम कम भएको बताउँछन्। ‘चाडपर्वको समयमा एकअर्काको घरमा जाने भएकाले अहिले अलि कोरोना सर्ने सम्भावना बढि छ,’ उनी भन्छन्।
चाडपर्वलाई लक्षित गरी नगरबासीलाई सचेत गराउने काम भइरहेको उनले बताए। मेयर अर्याल भन्छन, ‘मानिसहरु सबै सचेत भईसकेका छन्, तर अहिले बुझेर पनि लापरबाही गर्नेहरु धेरै देखिन्छन्।’
उनका अनुसार गाउँमा हिडडुल गर्दा मास्स, पन्जा प्रयोग गर्दैनन्। प्रहरी तथा अनुगमन टोली आउँदा मात्रै मास्स लगाउने गरेको उनले बताए। गाउँमा कोरोनाबाट सुरक्षित हुन सर्तकता नै नअपनाउने गरेको उनले बताए।
भीडभाड गर्न दिइएको छैन : बाह्रबिसेका मेयर
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले चाडपर्वको समयमा भीडभाड नियन्त्रण गरिरहेको जनाएको छ। मेयर निमफुञ्जो शेर्पाका अनुसार चाडपर्वको समयमा मानिसहरु रमाइलो गर्ने, भीडभाड गर्ने भएकाले पाँच जनाभन्दा बढि मानिसहरु घर बाहिर जम्मा हुन दिइएको छैन।
चाडपर्वको समयमा हुने रमाइलो आफ्नो परिवारको सदस्यहरु मिलेर घरभित्रै खेल्न आग्रह गरिएको उनले बताए। ‘भीडभाड जम्मा गरेर बसेमा कारबाही समेत गरिनेछ,’ उनले भने।
बाहिरबाट आएकालाई होम आइसोलेसनमा बस्न आग्रह गरिरहेका छौं : त्रियुगाका मेयर
उदयपुरको त्रियुगा नगरपालिकाले उपत्यका तथा बैदेशिक रोजगारीबाट फर्किएकालाई होम आइसोलोसनमा बस्न आग्रह गरिएको जनाएको छ। वडाध्यक्षहरुले बाहिरबाट आएका मानिसको रेखदेख गरिरहेको जनाएको छ।
मेयर बलदेव चौधरीका अनुसार उपत्यका तथा बाहिरबाट आएकालाई १४ दिनसम्म होम आइसोलेसनमा बस्न भनिएको छ। ‘उनीहरुलाई बाहिर डिहडुल गर्न, भिडभाडमा जान रोक लगाइएको छ,’ मेयर चौधरीले भने।
भारतबाट आउनेलाई कडा निगरानी : कमलबजारका मेयर
अछामको कमलबजार नगरपालिकाले चाडपर्वको समयमा भारतबाट फर्केका नागरिकलाई निगरानीमा राख्न थालिएको जनाएको छ। भारतमा कोरोना संक्रमणको उच्च जोखिम छ।
मेयर ओम प्रकाश विष्टका अनुसार भारतबाट आउनेहरुलाई घरघरमा गई आफु र आफ्नो परिवारलाई सुरक्षित राख्न सचेत गराउन थालिएको छ। विभिन्न नाका हुँदै सजिलै प्रवेश गर्ने भएकाले नगर प्रहरी परिचालन गरी अनुगमन थालिएको उनले बताए। ‘भारतबाट फर्किएकाहरुलाई भिडभाडमा हिडडुल नगर्न, स्वास्थ्य मापदण्ड पालना गर्न र कोरोना जोखिमबारे सचेत गराईरहेका छौं,’ मेयर बिष्टले भने।
बाहिरबाट गाउँ प्रवेश गरेकालाई परीक्षण गराउन आग्रह : घोडाघोडीका मेयर
कैलालीको घोडाघोडी नगरपालिकाले बैदेशिक रोजगारी तथा उपत्यकाबाट आएकालाई पिसिआर परीक्षण गराउन आग्रह गर्न थालेको छ। कोरोनाको उच्च जोखिम भएको क्षेत्रबाट आउँदा आफुसहित आफन्तलाई सुरक्षित राख्न अपिल गरिएको मेयर ममताप्रसाद चौधरीले बताए।
परीक्षणको लागि आर्थिक अभाव भएमा नगरपालिकाबाट सहयोग समेत गरिएको उनले बताए। चाडपर्वको समयमा बाहिर हिडडुल र भीडभाड नगर्न सचेत गराइएको उनले बताए। ‘आर्थिक अवस्था कमजोर भएका र भोकभोकै बसिरहेकालाई राहत दिर्दै बाहिर भिडभाड गरी काम नगर्न समेत आग्रह गरिरहेका छौं,’ मेयर चौधरीले भने।
नियमित अनुगमन गरिरहेका छौं : गुर्भाकोट मेयर
सुर्खेतको गुर्भाकोट नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै नियमित अनुगमन थालेको जनाएको छ। वडा कार्यालय तथा नगरपालिको सहकार्यमा दैनिक प्रत्येक वडामा अनुगमन गरिन थालिएको मेयर हस्त पुनले बताए। ‘नगर प्रहरी र वडा कार्यालयका सदस्यहरुलाई परिचालन गरिएको छ,’ मेयर पुनले भने।
चाडपर्वको समयमा गाउँ आउनेलाई लक्षण देखा परेमा स्वास्थ्य साम्रगी र निःशुल्क परिक्षण गराउन थालिएको उनले बताए। नगरबासीलाई सचेत गराउनेबाहेक अन्य केही गतिविधि नभएको उनले बताए। ‘सुरक्षित रुपमा दशैं कसरी मनाउने भनेर सचेत गराउँदै हिडिरहेका छौं,’ मेयर पुनले भने।












-(86)-1764936079.jpg)