स्तनपानले घटाउँछ बाल मोटोपनको २५ प्रतिशत जोखिम
स्तनपानले बालबालिका मोटो हुने सम्भावना २५ प्रतिशतले घटाउँछ। विश्व स्वास्थ्य संगठनका विज्ञहरूले १६ वटा देशमा गरेको अध्ययनबाट यस्तो नतिजा आएको हो।
युरोपमा गरिए....
स्तनपानले बालबालिका मोटो हुने सम्भावना २५ प्रतिशतले घटाउँछ। विश्व स्वास्थ्य संगठनका विज्ञहरूले १६ वटा देशमा गरेको अध्ययनबाट यस्तो नतिजा आएको हो।
युरोपमा गरिएको उक्त अध्ययनपछि स्वास्थ्यविद्हरूले धेरैभन्दा धेरै महिलालाई स्तनपान गराउन आह्वान गरेका छन्। यसका साथै दूध पाउडरको बजार प्रवद्र्धनमा रोक लगाउनुपर्ने उनीहरूले माग गरेका छन्। अध्ययन प्रतिवेदनकी वरिष्ठ लेखक जोआउ ब्रेडाले त्यस्ता गतिविधिका कारण महिलाले स्तनपानको महत्व नबुझेको बताइन्।
‘तलबी सुत्केरी विदाजस्तो स्तनपान प्रोत्साहन गर्ने अन्य उपायहरू पनि अवलम्बन गर्नुपर्छ,’ नसर्ने रोगको रोकथाम र नियन्त्रणका गर्ने विश्व स्वास्थ्य संगठनको युरोपस्थित कार्यालयकी ब्रेडाले भनिन्,‘तयारी दूध पाउडरको विज्ञापन नियन्त्रण गर्नुपर्दछ। यसकै कारण दूध पाउडर पनि आमाको दूधजतिकै राम्रो हुने केही आमाहरूको विश्वास छ।’
युरोपका ७७ प्रतिशतभन्दा धेरै बालबालिकालाई स्तनपान गराइने अनुसन्धानले पत्ता लगाएको छ। आयरल्यान्डमा ४६ प्रतिशत र फ्रान्सका करिब ३४ आमाले कहिले पनि स्तनपान गराएनन्। सकेसम्म, महिलाले ६ महिनासम्म स्तनपानबाहेक बच्चालाई केही ख्वाउन नपर्ने विश्व स्वास्थ्य संगठनको सुझाव छ।
विश्व स्वास्थ्य संगठनको चाइल्डहुड ओबिसिटी सर्भिलेन्स इनिसिएटिभ अन्तर्गत ३० हजार बालबालिकाको अनुगमनबाट यस्तो तथ्याङ्क निस्किएको हो। सन् २००७ मा सुरू भएपछि, इनिसिएटिभ निरन्तर अद्यावधिक भइरहेको छ। अहिले इनिसिएटिभले करिब ४० देशबाट ६ देखि ९ वर्षका बालबालिकाबाट सूचना तथा तथ्याङ्क संकलन गर्ने गरेको छ। यसमा संयुक्त अधिराज्य पर्दैन जहाँ चारदेखि एघार वर्षका विद्यालय जाने बालबालिकाको मापन गरिन्छ।
संयुक्त अधिराज्यमा स्तनपानको दर न्यून छ। ब्रिटेनका ८१ प्रतिशत आमाले स्तनपान गराउने भएपनि ६ सातासम्म बेलायतका २४ प्रतिशत, वेल्सका १७ प्रतिशत र उत्तरी आयरल्यान्डका १३ प्रतिशतले स्तपान गराउने गरेको सन् २०१० को तथ्याङ्कले देखाउँछ। ६ महिनासम्म मात्रै एक प्रतिशतले स्तनपान गराइरहेका हुन्छन्। यद्यपि, ३४ प्रतिशतले कुनै न कुनै प्रकारले स्तनपान गराउँछन्।
तुलनात्मक रूपले कुनै समय स्तनपान गरेका १३.२ प्रतिशत र ६ महिना वा सोभन्दा लामो समयसम्म स्तनपान गरेका ९.३ प्रतिशत बालबालिकाभन्दा कहिले पनि स्तनपान नगरेका १६.८ प्रतिशत बालबालिका मोटा थिए। तथ्याङ्कको समायोजनपछि ६ महिनासम्म स्तनपान गरेका बालबालिकाको तुलनामा कहिले स्तनपान नगरेका बालबालिका मोटो हुने सम्भावना २२ प्रतिशत बढी रहेको पत्ता लाग्यो। त्यसैगरी ६ महिनाभन्दा कम समय स्तनपान गरेका बालबालिका मोटो हुने सम्भावना १२ प्रतिशत रहेको पत्ता लागेको छ। ६ महिनासम्म स्तनपान मात्रै गरेका बालबालिका २५ प्रतिशत बढी सुरक्षित रहेको पनि अध्ययनले देखाएको छ।
विश्व स्वास्थ्य संगठनको कार्यपत्र ग्लास्गोस्थित युरोपियन कंग्रेस अन ओबिसिटीमा प्रस्तुत गरियो। ओबिसिटी फ्याक्ट्स जर्नलमा प्रकाशित उक्त कार्यपत्रमा स्तनपानले बालबालिकालाई मोटोपनबाट जोगाउनुको धेरै कारण रहेको बताइएको छ। स्तनपान मात्रै गराउनाले ढिला गरी ठोस खाना ख्वाइन्छ जसमा उर्जाको मात्रा अत्यधिक हुनसक्छ। दूध पाउडर वा फर्मुला मिल्क खाने बालबालिकामा इन्सुलिनको मात्रा बढी हुने केही प्रमाण पनि भेटिएका छन्। यसले शरिरमा बोसो जम्मा गर्नसक्छ।
‘स्तनपानको प्रभाव वास्तवमै सुरक्षित छ। प्रमाणहरू पनि छन्। यसका धेरै फाइदा छन् त्यसैले हामीले सबैलाई बताउनुपर्छ,’ ब्रेडाले भनिन्।
रोयल कलेज अफ मिडवाइभ्सको म्याटर्निटी ट्रान्सफोर्मेसनकी प्रमुख केट ब्रिन्टवर्थले अध्ययनको स्वागत गरिन्। ‘सुत्केरीपछि मिडवाइफ र मिडवाइफरी सर्पाेट वर्कर्सले समय दिन नसक्दा स्तनपान गराउन समय नमिलेको धेरै महिलाको गुनासो हामीले सुनेका छौं,’ उनले भनिन्,‘यद्यपि सन्तानलाई के ख्वाउने भन्ने विषयमा आमाको निर्णयलाई हामीले सम्मान गर्नुपर्दछ। यदि उनी स्तनपान गराउन चाहन्नन् भने–जे सुके कारणले होस्, उनको त्यो निर्णयमा हामीले सहयोग गर्नुपर्छ।’
युनिसेफ युकेको बेबी फ्रेन्ड्ली इनिसिएटिभकी सु एशमोरले भनिन्,‘मानव दूध–स्तनको दूध मानवका सन्तानका लागि विशेष रूपले बनाइएको छ। संक्रमणबाट सुरक्षा दिने बच्चाको पहिलो खोप मात्रै नभएर यसले दीर्घकालीन स्वास्थ्यमा पनि प्रभाव पार्दछ। यसले मोटोपनको प्रकोपबाट पहिलो सुरक्षा दिन्छ।’