पाँचदिनमै १८ हजार संक्रमित, राजधानीमा १० हजार
अहिलेसम्म देशभर एक लाख ४४ हजार आठ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उपत्यकामा ६२ हजार पाँच सय ८१ जना रहेका छन्।भक्तपुर, कात्तिक ६ : कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो पाँच दिनमा मात्रै देशभर १८ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने त्यसमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै भेटिएका छन्।
स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका अनुसार कात्तिक १ देखि ५ गतेसम्म काठमाडौं उपत्यकामा १० हजार ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जबकी यो पाँच दिनमा देशभर जम्मा १८ हजार सात सय ३५ जना कोरोना संक्रमण देखिएको छ।
देशभर रहेका सक्रिय संक्रमितमध्ये आधा भन्दा बढी कोरोना संक्रमित काठमाडौं उपत्यकामा नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए। ‘केही दिनयता काठमाडौंमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ,’ डा. अधिकारीले भने ‘देशभरका संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा नै छन्।’
स्वास्थ्य मन्त्रालयको तत्थ्यांकअनुसार, कात्तिक १ गते देशभर तीन हजार एक सय ६७ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यसमध्ये एक हजार सा तसय ४६ जना काठमाडौं उपत्यकाका हुन्। उनीहरुमध्ये काठमाडौंमा एक हजार चार सय ५१ जना, भक्तपुरमा एक सय ४३ जना र ललितपुरमा एक सय ५२ जना रहेका थिए।
त्यस्तै, कात्तिक २ गते काठमाडौंमा एक हजार चार सय ६९ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा एक सय ३० जना गरी उपत्यकामा एक हजार ६ सय ९८ जना कोरोना संक्रमण पुष्टि भएको थियो। देशभर जम्मा दुई हजार नौ सय ४२ जना संक्रमित भेटिएका थिए।
अन्य दिनको तुलनमा कात्तिक २ गते संक्रमितको संख्या कम देखिएको भएपनि कात्तिक ३ गते भने फेरि बढेको तथ्यांक छ। कात्तिक ३ गते देशभर तीन हजार सात सय ९० जना कोरोना संक्रमित भेटिएका थिए भने आधाभन्दा बढी काठमाडौंकै थिए। काठमाडौंमा दुई हजार आठ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा दुई सय ८१ गरी उपत्यकामा मात्र दुई हजार तीन सय ८८ जना कोरोना देखिएको थियो।
यस्तै कात्तिक ४ गते काठमाडौंमा एक हजार ४३१ जना, भक्तपुरमा एक सय ४८ र ललितपुरमा एक सय २३ जना गरी उपत्यकामा एक हजार सात सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यो दिन देशभर जम्मा तीन हजार ९३ जना कोरोना संक्रमित भेटिएका थिए।
कात्तिक ५ गते भने कोरोना संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी पुष्टि भएको छ। देशभर पाँच हजार सात सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा भेटिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार तीन सय ९१ जना, भक्तपुरमा एक सय ७३ जना र ललितपुरमा पाँच सय ४३ गरी उपत्यमाका मात्रै तीन हजार एक सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
बिहीबारसम्मको तथ्यांकअनुसार, देशभर देखिएका संक्रमितमध्ये झण्डै आधा संक्रमित काठमाडौंमै रहेका छन्। अहिलेसम्म देशभर जम्मा एक लाख ४४ हजार आठ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उपत्यकामा ६२ हजार पाँच सय ८१ जना रहेका छन्।
उपत्यकामा पनि काठमाडौं धेरै रहेको छ। अहिलेसम्म काठमाडौंमा ५० हजार ६ सय पाँच, भक्तपुरमा चार हजार आठ सय नौ र ललितपुरमा सात हजार एक सय ६७ जनामा संक्रमण देखिएको छ।