अमेरिकाले काभ्रेमा बनाइदिएका तीन विद्यालय भवन हस्तान्तरण
काभ्रे, वैशाख १७ : अमेरिकाले काभ्रेपलाञ्चोकमा निर्माण गरिदिएका तीन वटा नयाँ प्राथमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ।
अमेरिकी जन....

काभ्रे, वैशाख १७ : अमेरिकाले काभ्रेपलाञ्चोकमा निर्माण गरिदिएका तीन वटा नयाँ प्राथमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ।
अमेरिकी जनताको सहयोगमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यू.एस.एआई.डी)मार्फत निर्माण भएका नयाँ प्राथमिक विद्यालयका भवन मंगलबार नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा राजदूत बेरीले ७२ वर्षसम्म लामो नेपाल–अमेरिकाको सम्बन्ध विश्वासिलो र भरपर्दो साझेदारका रूपमा कायम रहिरहेको बताए। उनले अमेरिकी जनताको सहयोगमा निर्माण भएका तीन विद्यालय वर्तमान र भावी पुस्ताका निम्ति अझ सुरक्षित भएको बताए। उनले नेपाल पुनर्निर्माणमा अमेरिकी जनताको सहयोगको दीर्घकालीन प्रतिबद्धताको एउटा सच्चा प्रतिबिम्ब विद्यालय निर्माण पनि भएको बताए।

विद्यालय हस्तान्तरणले अझ सुरक्षित नेपाल पुनर्निर्माणमा अमेरिकाको निरन्तरको प्रतिबद्धता प्रदर्शन गरेको राजदूत बेरीले बताए। भूकम्पलगत्तैको परिस्थितिमा, बालबालिकाहरू यथाशक्य छिटो विद्यालय फर्कन पाऊन् भन्ने सुनिश्चित गर्न एक हजार ४५ वटा अस्थायी सिकाइ केन्द्रको निर्माण र शैक्षिक सामाग्री वितरण गर्न यू.एस.ए.आई.डी ले यूनिसेफ र शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयसँग साझेदारी गरेको थियो।
पुनर्लाभको चरणमा, पुनर्निर्माणका निम्ति रकम उपलब्ध नभएसम्मका लागि विकट क्षेत्रका क्षतिग्रस्त वा ध्वस्त साना विद्यालयमा पढ्ने बालबालिकालाई सुरक्षित सिकाइ स्थल उपलब्ध गराउन यू.एस.ए.आई.डी ले दुई सय ५० वटा टिकाउ, अर्ध–स्थायी संक्रमणकालीन सिकाइ संरचनाहरूको निर्माण शुरु गरेको थियो। त्यतिबेलै यू.एस.ए.आई.डीले भूकम्पबाट अति प्रभावित सात जिल्लामा २९ वटा भूकम्पीय दृष्टिकोणले सुरक्षित, सुसज्जित, र बालबालिका तथा अपाङ्गतामैत्री विद्यालय निर्माण गर्ने अभियान नै चलाएको थियो।
अमेरिकी सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा आठवटा भूकम्पबाट सुरक्षित आधुनिक शैक्षिक भवनहरू हस्तान्तरण गरिसकेको छ भने यो वर्ष थप सातवटा हस्तान्तरण गर्ने लक्ष्य राखेको छ। २०७२ को भूकम्पदेखिको प्रतिकार्य र पुनर्लाभमा अमेरिकाले १९ करोड अमेरिकी डलरभन्दा बढीको लगानी गरेको छ।
अमेरिकाले झण्डै दुई लाख २८ हजार व्यक्तिलाई फाइदा पुग्ने गरी आधुनिक सुरक्षा मापदण्ड अनुसारका ४५ हजार पाँच सयभन्दा बढी घरहरूको पुनर्निर्माणमा सहयोग पनि गरेको छ। यस्तै, हाल सञ्चालनमा आइसकेको बाह्रबिसे प्राथमिक स्वास्थ्योपचार केन्द्र लगायतका सात अत्यावश्यक स्वास्थ्य संरचनाहरूको पुनर्निर्माण पनि शुरु गरेको छ।











