Kathmandu Press

प्रचण्डले भने– संविधान कुनै धर्मशास्त्रजस्तो होइन, संशोधन हुनसक्छ

ललितपुर, वैशाख १७ : सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान गतिशील र जीवन्त दस्तावेज भएकाले आवश्यकता ....

प्रचण्डले भने– संविधान कुनै धर्मशास्त्रजस्तो होइन, संशोधन हुनसक्छ

ललितपुर, वैशाख १७ : सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान गतिशील र जीवन्त दस्तावेज भएकाले आवश्यकता अनुसार संशोधन हुन सक्ने बताएका छन्। 

मंगलबार आफ्नै निवास खुमलटारमा मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले समय र जनताका आवाज अनुसार संविधान परिमार्जित हुँदै जाने बताएका हुन्। 

उनले संविधान कुनै मृत वा कुनै धर्मशास्त्र जस्तो नभएको पनि बताए। ‘संविधान गतिशील र जीवन्त दस्तावेज हो। त्यो कुनै मृत वा कुनै धर्मशास्त्र जस्तो पनि होइन। समय र जनताका आवाज अनुसार परिमार्जित र विकसित हुँदै जाने दस्तावेज हो।’

उनले अहिलेको संविधान विगतका संविधानहरु जस्तो नभएको पनि बताए। ‘विगतका संविधानहरुमा यो कुरा राजनीतिक कुरा या जनताका अधिकारसँग सम्बन्धित कुराहरुलाई परिवर्तन हुन नसक्ने अपरिवर्तनीय भन्ने राखिएको हुन्थ्यो। पञ्चायतका बेलामा पञ्चायत अपरिवर्तनीय, राजतन्त्र अपरिवर्तनीय भनेको हुन्थ्यो। पछि पनि यस्ता कुराहरु थिए,’उनले भने,‘तर, अहिले राष्ट्रको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता चाहिँ अपरिवर्तनीय अरु बाँकी सबै परिवर्तनीय भनेर संविधानले नै भनेको हुनाले परिमार्जन, विकास र संशोधनको गुञ्जायस छ।’

प्रचण्डले मधेसका जनताका आवाज अनुसार आफूहरु संविधान संशोधन गर्न तयार रहेको पनि बताए। ‘प्रधानमन्त्री र मैले मधेसका केही प्रतिनिधि र पार्टीहरुसँग हस्ताक्षर पनि गरेका छौं। म प्रधानमन्त्री हुँदा संविधान संशोधनका विषयमा सहमति जुटाउन खोजेको थिएँ। दलहरुसँग सहमतिका लागि प्रयास पनि गरेको थिए,’उनले भने,‘मधेसका केही असन्तुष्टिहरु सरकारले सम्बोधन गर्नेछ। संविधान संशोधन हुन्छ।’
 

प्रकाशित मिति: १५:४८ बजे, मंगलबार, वैशाख १७, २०७६