सचिवालयमा बहुमत पुर्याउन खनाललाई फकाउँदै ओली
काठमाडौं, वैशाख १७ : नेकपा सचिवालयमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पूर्वअध्यक्ष एवं वरिष्ठ नेता झलनाथ खनाललाई आफ्नो ‘क्य....
काठमाडौं, वैशाख १७ : नेकपा सचिवालयमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पूर्वअध्यक्ष एवं वरिष्ठ नेता झलनाथ खनाललाई आफ्नो ‘क्याम्प’मा ल्याउन पहल गरिरहेका छन्। यसबारे ओलीले खनालसँग पटक-पटक छलफल गरेको र टुंगो नजिक पुगेको नेकपा स्रोतले जानकारी दियो।
वामदेव गौतम टाढिएपछि अध्यक्ष ओली सचिवालयमा अल्पमतमा पर्ने अवस्था सिर्जना भएको छ। नौ सदस्यीय सचिवालयमा ओलीसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल मात्र छन्।
अर्को खेमाको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा वरिष्ठ नेता खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहित चार जना प्रष्ट छन्। अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तटस्थ रहेको अवस्थामा सचिवालयमा नेपाल पक्षको बहुमत भएपछि ओलीले यो पहल थालेका हुन्।
अर्का अध्यक्ष ‘प्रचण्ड’ पक्षका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छन्। बादल जुनसुकै विषयमा पनि पटक्कै बोल्दैनन्। तथापि, उनी हालसम्म ओली पक्षमै देखिएका छन्।
प्रचण्डले भने सचिवालयमा ‘मध्यमार्गी’ भूमिका खेल्दै आएका छन्। पार्टीको जिल्ला स्तरको एकतामा जिल्ला अध्यक्ष र सचिव तोक्ने विषयमा ओलीको चाहनाविपरीत प्रचण्डले पनि नेपालले अघि सारेको ‘मापदण्ड’ बनाउने विषयमा सहमति जनाएका थिए।
अध्यक्ष ओली नेपाल पक्षका दुई-तीन जिल्ला अध्यक्ष पनि दिन तयार नदेखिएको अवस्थामा प्रचण्डको भूमिकाका कारण १६ जना जिल्ला अध्यक्ष र २२ जना सचिव दिन बाध्य भयो। यसपछि ओली थप सजग भएको स्रोतको दाबी छ।
पूर्वअध्यक्ष खनाल चाहिँ आफू चीन गएको बखत नेपालले आफूलाई वरियतामा माथि राख्ने गरी मिलाएकोमा नेपालसँग चिढिएका छन्। खनालले फर्केर आएपछि पार्टीभित्र आफ्नो बरियता तल झारिएकोमा आपत्ति पनि जनाएका थिए।
खनालले संसद्मा आफ्नो सीटबारे उपनेता सुवासचन्द्र नेम्वाङलाई पनि टिप्पणी गर्दा नेम्वाङले जवाफ दिएका थिए, ‘तपाईं सचिवालयमा रहेका नेताहरूले निर्णय गर्नुभएको हो। को कहाँ हुनुहुन्थ्यो भन्ने थाहा भएन। तपाईंकै निर्णय हामीले कार्यान्वयन गरेका हौँ। किन त्यस्तो निर्णय गर्नुभयो, हामीलाई तपाईंले जवाफ दिनुपर्छ।’
यो जवाफपछि खनाललाई संसद्को पहिलो लहरको तेस्रो कुर्सी नेम्वाङले तोकिदिएका थिए। ओली र खनालबीच वैशाख ८ गते भएको छलफल सहमति नजिक पुगेको स्रोतको दाबी छ।
प्रज्ञा भवनमा वैशाख ९ गते आयोजित पार्टी स्थापना दिवसको कार्यक्रममा खनाल अध्यक्ष ओली नजिकको कुर्सीमा बसेपछि नेपाल कार्यक्रम स्थलबाटै हिँड्नुमा पनि यही समीकरणले काम गरेको बताइन्छ।
यद्यपि, खनालनिकट युवा नेताहरू घनश्याम भुसाल, योगेश भट्टराईहरूप्रति ओलीसमूह अत्यन्त अनुदार रहेका कारण चाहिँ खनाललाई क्याम्प परिवर्तन गरिहाल्न त्यति सजिलो नहुने अर्को पक्षका एक नेताको दाबी छ।






