राष्ट्रपति भण्डारीले दिइन् चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो
बेइजिङ, वैशाख १६ : राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय बैठक सकिएको छ। ग्रेट हल अफ द पिपलमा सोमबार भएक....

बेइजिङ, वैशाख १६ : राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय बैठक सकिएको छ। ग्रेट हल अफ द पिपलमा सोमबार भएको भेटमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी छिन्।
आफूले चीनको राजकीय भ्रमणको आरम्भ सियानबाट गरेको र उक्त नगरको प्रगतिबाट आफू प्रभावित भएको बताउँदै राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा आफू र आफ्ना दलका सदस्यलाई दिइएको आतिथ्यताका लागि धन्यवाद व्यक्त गरिन्।
चिनियाँ राष्ट्रपति सीले अन्तरराष्ट्रिय सहयोगका लागि ‘दोस्रो क्षेत्र र मार्ग मञ्च’मा समकक्षी भण्डारीले राम्रो विचार व्यक्त गर्नुभएको उल्लेख गर्दै नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइ दिन आफू तयार रहेको बताए।
भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो। रासस











