राप्रपा (संयुक्त)का भ्रातृ संगठनद्वारा अख्तियारको कार्यालय घेराउ
काठमाडौं, वैशाख १६ : राप्रपा (संयुक्त) का भ्रातृ संगठनहरुले सरकार भ्रष्टाचारी, दलाल, बलात्कारीको संरक्षक भएको भन्दै कमिसनखोरको विरोधमा प्रदर्शन ग....

काठमाडौं, वैशाख १६ : राप्रपा (संयुक्त) का भ्रातृ संगठनहरुले सरकार भ्रष्टाचारी, दलाल, बलात्कारीको संरक्षक भएको भन्दै कमिसनखोरको विरोधमा प्रदर्शन गरेका छन्।
सरकारले सुनियोजित र नीतिगत रुपमै भ्रष्टाचारलाई संस्थागत गर्दा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुकदर्शक बनेको भन्दै राप्रपा संयुक्तका भ्रातृ संगठनहरुले सोमबार विरोधस्वरुप अख्तियार परिसर घेराउ गरेका हुन्।
राप्रपा (संयुक्त) सम्वद्ध विद्यार्थी संगठन र युवा संगठनद्वारा आयोजित विरोध कार्यक्रममा युवाहरुले मुलुकमा व्याप्त भ्रष्टाचारको विरोध गर्दै अख्तियार प्रवक्ता प्रदिप कोइरालालाई ज्ञापन पत्र बुझाएका थिए। ज्ञापनपत्रमा सत्ता पक्ष र प्रतिपक्षको राष्ट्रिय सहमति रहेको वाइड बडी प्रकरण, बालुवाटार जग्गा काण्ड लगायतका अनियमिततामा कारवाहीको माग गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा (संयुक्त) कार्यसम्पादन समितिका सदस्य तथा विद्यार्थी संगठनका संयोजक जगत गौचनले घेराउ सरकारकै नेतृत्व र संरक्षणमा भ्रष्टाचार जीवन पद्धति बनाइएकोमा आपत्ति जनाए।
युवा विद्यार्थीहरुले नक्साल गहना पोखरीदेखि अख्तियार परिसरसम्म नारा जुलुस गरेका थिए। भ्रष्टाचारीलाई सख्त कारवाहीको माग गर्नुका साथै राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा नाराबाजी गरेका थिए।











