नेकपालाई फोरम नेपालको चेतावनी–अब सहकार्य टुट्न सक्छ
काठमाडौं, वैशाख १६ : सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले सरकारमा सहभागी हुँदा भएको दुई बुँदे सहमति कार्यान्वयन नभए सरकारबाट बाहिरिने चेतावनी ....

काठमाडौं, वैशाख १६ : सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले सरकारमा सहभागी हुँदा भएको दुई बुँदे सहमति कार्यान्वयन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ।
सोमबारबाट सुरु भएको संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारमा सामेल हुँदा भएका दुई बुँदे सहमति कार्यान्वयन नभए वर्तमान सरकारको नेतृत्वकर्ता दल नेकपासँगको सहकार्य टुट्न सक्ने चेतावनी दिएका हुन्।
उनले भने,‘हामीसँग भएका सहमति कार्यान्वयन गर्न सरकार तत्पर भएन भने वर्तमान नेपाल कम्युनिष्ट पार्टीसँगको सहकार्य सहकार्य टुट्न पनि सक्छ। सरकारको नेतृत्व गर्ने पार्टीले समयमै ध्यान देओस्।’
श्रेष्ठले आफूहरु संविधान संशोधनसम्बन्धी दुई बुँदे सहमति कार्यान्वयन हुने सहमति अनुसार सरकारमा सामेल भएको पनि स्मरण गरे। उनले भने,‘संविधान संशोधनसम्बन्धी दुई बुँदे सहमति भएको एक वर्ष हुन थाल्यो। आजसम्म त्यसबारे कुनै कदम चालिएन। यदि संविधान संशोधनको कुरालाई वेवास्ता गरिए अब हामी पर्खिन सक्दैनौं।’
उनले संविधान संशोधनसम्बन्धी कुराहरुलाई अगाडि बढाउन सरकार तत्पर नभए आन्दोलनको मैदानबाट संसद र संसदबाट सरकारमा त्यो संघर्षलाई पुर्याएर आफूहरुका एजेन्डाहरुलाई पुर्याउने हिसावले सरकारमा सहभागी भएको पनि बताए।
श्रेष्ठले नागरिकताका सवालमा सर्वोच्च अदालतले दिएका तीन फरक फरक आदेशप्रति पनि असन्तुष्टि जनाए।
‘नागरिकताका सवालमा संविधानले स्पष्ट व्यवस्था गरेको छ,’उनले भने,‘तर, सर्वोच्चले नागरिकताबारे तीन पटक फरक फरक आदेश दिने काम गरेको छ। यसले सम्मानित अदालतमाथिको निष्पक्षता र विश्वासनीयतामाथि प्रश्न उठेको छ।’











