Kathmandu Press

देउवाको प्रश्न–बालुवाटारको जग्गा भूमाफियाको कब्जामा कसरी पुग्यो ?

काठमाडौं, वैशाख १६ः प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारको सरकारी जग्गा भूमाफियाको कब्जामा पुगेकोप्रति चिन्ता व्यक्....

देउवाको प्रश्न–बालुवाटारको जग्गा भूमाफियाको कब्जामा कसरी पुग्यो ?

काठमाडौं, वैशाख १६ः प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारको सरकारी जग्गा भूमाफियाको कब्जामा पुगेकोप्रति चिन्ता व्यक्त गरेका छन्।

संसद्को चौथो अधिवेशनको सुरुमा बोल्दै पूर्व प्रधानमन्त्री देउवाले भने,‘बालुवाटारको सरकारी जग्गा भूमाफियाको कब्जामा पुगेको छ। यसप्रति सरकारले ढिलासुस्ती नागरिकको धैर्यको बाँध टुट्न लागेको छ।’देउवाले भने,‘सरकार बनेको १४ महिनामा पनि जनतालाई देखाउन लायक एउटा पनि काम गर्न सकेको छैन। यसले जगाउने निराशा हामी सबैका लागि प्रत्युत्पादक हुनसक्छ।’

समावेशी लोकतन्त्रबाट नै परिवर्तन संभव भएको बताउँदै उनले भने,‘सरकार यस दिशामा अघि बढेमा प्रमुख प्रतिपक्ष यसमा सघाउन तयार छ।’ उनले थप हिंसा हैन, सहमति र सहकार्यको खाँचो पनि औँल्याए।  देउवाले बाराका हुरीबतास पीडितलाई राहत पुन:स्थापनामा उचित व्यवस्था हुन नसकेको बताउँदै तत्काल उपलब्ध गराउन सरकारसँग माग गरे।

तीनै तहका निर्वाचन सम्पन्न भइकेको अवस्थाप्रति ध्यानाकर्षण गर्दै देउवाले भने,‘सबै तहका कार्यकारी निकाय समृद्धिको बाटोमा द्रूत गतिले अघि बढाउने अपेक्षा थियो। प्रधानमन्त्रीजीले समृद्धि यात्रामा अघि बढाउने अपेक्षा थियो तर यो दिशामा अघि बढेको छैन।’ विपक्षी नेता देउवाले निर्मला पन्तको हत्या र बलात्कार घटनाको अपराधी फेला नपरेकोबारे प्रश्न गर्दै भने,‘सरकारको नियतमाथि शंका उत्पन्न भएको छ।’

समृद्ध नेपाल सुखी नेपालीको नारा दिए पनि  पूँजीगत खर्च बढाउन नसकेको बताउँदै जनतामा निराशा उत्पन्न भएको बताए। टेन्डर बिनाप्रतिस्पर्धा विकास खर्च बढाएकोप्रति विरोध गर्दै बूढीगण्डाकीको भविष्य अनिश्चित बनाएकोमा चिन्ता व्यक्त गरे। भ्रष्टाचारका काण्ड बढ्दै गएको व्यापार घाटा बढेको र नागरिकहरू मूल्यवृद्धिको मारमा परेकोमा विरोध पनि बढाए।

प्रकाशित मिति: १६:४१ बजे, सोमबार, वैशाख १६, २०७६