Kathmandu Press

कन्हैया कुमारको क्षेत्रमा आज मतदान हुँदै

नयाँदिल्ली, वैशाख १६ : भारतको तल्लो सदन लोकसभाका लागि आज चौथो चरणको मतदान शुरु भएको छ। आज चर्चित भारतीय युवा नेता कन्हैया कुमारकाे निर्वाचन क्षेत्रसहि....

कन्हैया कुमारको क्षेत्रमा आज मतदान हुँदै
एजेन्सी

नयाँदिल्ली, वैशाख १६ : भारतको तल्लो सदन लोकसभाका लागि आज चौथो चरणको मतदान शुरु भएको छ। आज चर्चित भारतीय युवा नेता कन्हैया कुमारकाे निर्वाचन क्षेत्रसहित नौ राज्यका ७१ स्थानका लागि मतदान भइरहेको छ।

निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले नौ सय ४५ जना उम्मेदवारको भाग्यको फैसला गर्नेछन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई ट्वीटरमार्फत मतदानमा सक्रिय सहभागी हुन आह्वान गरेका छन्। उनले युवावर्गले मतदानमा भाग लिएर मुलुकको भाग्य बदल्न विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए।

निर्वाचन आयोगका अनुसार, बिहारमा पाँच, जम्मु काश्मिरमा एक, झारखण्डमा तीन, मध्यप्रदेश र उडिसामा ६–६, महाराष्ट्रमा १७, राजस्थान र उत्तर प्रदेशमा १२–१२ तथा पश्चिम बंगालमा आठ स्थानमा चुनाव भइरहेको छ।

त्यस्तै, उडिसामा ४२ स्थानको विधान सभाका लागि पनि मतदान हुँदैछ।

यस चुनावमा बिहारको बेगुसराय निर्वाचन क्षेत्र निकै चर्चामा छ। यहाँ भारतीय कम्युनिष्ट पार्टीका तर्फबाट युवानेता एवं प्रखर वक्ता कन्हैया कुमार र भारतीय केन्द्रीय मन्त्री गिरिराज सिंह तथा आरजेडीका तनवीर हस्सनबीच प्रतिस्पर्धा हुँदैछ।

सुप्रसिद्ध बलिउड कलाकारहरु जाभेद अख्तर, शबाना आज्मी, स्वारा भास्कर र प्रकाश राजसमेत कन्हैयाका पक्षमा चुनावी प्रचारमा बेगुसरायमा छन्।

जम्मु काश्मिरको अनन्तनाग लोकसभाका लागि चुनाव जारी छ। यहाँ चार सय ३३ वटा मतदान केन्द्र राखिएका र करिब ती लाख ४४ हजारले मतदान गर्ने विश्वास गरिएको छ।

मतदानका क्रममा सामान्य हिंसाका घटना भएको सञ्चार माध्यमहरुले जनाएका छन् । तर समग्रमा चुनाव शान्तिपूर्ण रुपमा भइरहेको प्रहरी प्रशासनले जनाएको छ।

यसअघि अप्रिल २३ मा भएको तेस्रो चरणको चुनावमा १४ राज्य र एउटा केन्द्र शासित राज्यमा गरी एक सय १६ स्थानका लागि मतदान भएको थियो। तेस्रो चरणको यस चुनावमा करिब १८ करोड ५६ लाख मतदाता रहेका थिए।

यस्तै गत अप्रिल १८ मा भएको दोस्रो चरणको निर्वाचनमा ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा गरी ९५ स्थानका लागि मतदान भएको थियो।

यसैगरी, अप्रिल ११ मा भएको पहिलो चरणको चुनावमा ६९।४३ प्रतिशत मतदान भएको थियो । उक्त चुनाव १८ वटा राज्य एवं दुईवटा केन्द्र शासित प्रदेशमा ९१ स्थानका लागि भएको थियो ।

सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ। (एएनआई)

प्रकाशित मिति: १२:४५ बजे, सोमबार, वैशाख १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्