Kathmandu Press

रुघाखोकीले हुम्लामा थप एकको मृत्यु, मृतकको संख्या १० पुग्यो, तीन सयभन्दा बढी बिरामी

हुम्ला, वैशाख १६ : रुघाखोकीले हुम्लाको ताँजाकोट गाउँपालिकामा थप एक जनाको मृत्यु भएको छ।

स्थानीय बासिन्दाका अनुसार, आज बिहान ताँजाकोट गाउँपाल....

रुघाखोकीले हुम्लामा थप एकको मृत्यु, मृतकको संख्या १० पुग्यो, तीन सयभन्दा बढी बिरामी
काठमाडौं प्रेस

हुम्ला, वैशाख १६ : रुघाखोकीले हुम्लाको ताँजाकोट गाउँपालिकामा थप एक जनाको मृत्यु भएको छ।

स्थानीय बासिन्दाका अनुसार, आज बिहान ताँजाकोट गाउँपालिका–५ भदौराकी ६२ वर्षीया पवित्रा बोहराको मृत्यु भएको हो। तीन सातादेखि फैलिएको रुघाखोकीले सोमबारसम्म मृतकको संख्या १० पुगेको छ। यसअघि नौ जनाको मृत्यु भएको थियो।

यस अघि ताँजाकोट गाउँपालिकाको वडा नं. १, २ र ३ मा फैलिएको रुघाखोकी पछिल्लो समय वडा नं. ५ मा पनि देखिएको छ। तीन सयभन्दा बढी विरामी रहेको गाउँपालिका अध्यक्ष बागदल मल्लले बताए।

रुघाखोकी फैलिएको गाउँमा उपचार गर्न आइतबार हेलिकप्टरबाट चिकित्सकको टोली लगिएको छ। आइतबारदेखि नै चिकित्सकले उपचार गर्न थालेको अध्यक्ष मल्लले बताए।

ज्वरो आउने, रुघाखोकी लाग्ने गरेको देखिएको थियो। स्थानीय स्वास्थ्य चौकीमा औषधि नहुँदा उपचार गर्न समस्या भएको थियो।

ज्वरो तथा रुघाखोकी लाग्दा गत चैत २६ गते एक जनाको मृत्यु भएको थियो। त्यसयता सोमबारसम्म १० जनाको मृत्यु भएको स्थानीय मैला स्वास्थ्य चौकीका ईन्चार्ज मोतिलाल जैसीले बताए।

शनिबार बिहान मात्रै ताजाकोट–१, जिमाना गाउँका ५५ वर्षीय वीरबल रिठालको मृत्यु भएको थियो। त्यसअघि ७५ वर्षीया कुसुमा रिठाल, ६० वर्षीय शुरजीत खड्का, ताजाकोट–२ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षीया सुनकेसा सुनारको मृत्यु भएको थियो।

यसैगरी, ताजाकोट–३ की ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका सञ्जीव थापाको मृत्यु भएको स्वास्थ्य चौकी इन्चार्ज जैसीले बताए।

 

 

 

प्रकाशित मिति: १२:३० बजे, सोमबार, वैशाख १६, २०७६