Kathmandu Press

बिआरआईले नेपालमा लगानीको ढोका खोलेको छ: राष्ट्रपति भण्डारी

बेइजिङ, वैशाख १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)ले लगानीका थप अवसरका ढोका खोलेकाले फाइदा लिन उद्यमी र व्यवसायीलाई ....

बिआरआईले नेपालमा लगानीको ढोका खोलेको छ: राष्ट्रपति भण्डारी

बेइजिङ, वैशाख १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)ले लगानीका थप अवसरका ढोका खोलेकाले फाइदा लिन उद्यमी र व्यवसायीलाई आह्वान गरेकी छिन्।

उनले नेपालमा हाल कार्यरत बहुराष्ट्रिय कम्पनीले लगानीबाट नाफा कमाइरहेको र यसबाट नेपाल लगानीका लागि आकर्षक गन्तब्य हो भन्ने पुष्टि भएको पनि बताइन्।नेपाल चीन व्यापार तथा व्यवसाय मञ्च (नेपाल चाइना ट्रेड एण्ड बिजनेस फोरम) मा आइतबार राष्ट्रपति भण्डारीले लगानी सुरक्षाका लागि व्यापक नीतिगत, संरचनागत सुधार गरिएको र वैदेशिक लगानी सहजीकरणका लागि चाँडै एकल विन्दू केन्द्र कार्यान्वयन गरिने र कर प्रणाली उद्धार र अनुमान योग्य बनाइने जानकारी दिइन्।

उनले नेपालले सफलतापूर्वक लगानी सम्मेलन आयोजना गरेको र उक्त सम्मेलनमा चिनियाँ उद्यमीको सबैभन्दा ठूलो उपस्थिति रहेको उल्लेख गर्दै नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र चीनबाट पयर्टक सङ्ख्या गुणात्मक रुपमा वृद्धि होस् भन्ने चाहेको बताइन्। 

उनले नेपाल र चीन मित्रता र सहयोगको लामो इतिहास बोकेको छिमेकी मित्र भएको तथा भूगोल, संस्कृति र परम्पराले दुई देशका जनतालाई जोडेको तथा चीन नेपालको सबैभन्दा विश्वासिलो तथा भरपर्दो विकास साझेदार भएको र नेपालको सामाजिक विकास प्रयासमा चीन सरकार तथा जनता निरन्तर सर्मथन र सहयोग दिएको उल्लेख गरिन्। उनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा दुई मुलुकको सम्बन्ध सञ्चालन हुँदै आएको र एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धता बलियो र अटल भएको तथा नेपाली भूमि चीनविरोधी गतिविधि हुन नदिइने कुराको सुनिश्चित गर्न नेपालले ठोस कदम चालेको जानकारी दिइन्। 

‘‘२०१५ को सेप्टेम्बरमा प्रगतिशील संविधान जारी गरेर नेपालले राजनीतिक मुद्दा टुङ्ग्याएको छ। राजनीतिक सङ्क्रणकालको अन्त्य गरेको छ र यो नेपालको इतिहासमै सबैभन्दा बलियो स्थिर सरकार हो। सरकारसँग देश विकासका लागि स्पष्ट दृष्टिकोण, कार्यसूची छ। आधुनिक रुपान्तरण नेपालको प्राथमिकता हो। जनताका उर्लँदो अपेक्षा सम्बोधन गर्न समय खेर फाल्ने सुविधा छैन र ‘समृृद्ध नेपाल, सुखी नेपाली’ सरकारको सङ्कल्प हो। विकास प्रयासका केन्द्र नेपाली जनता रहेका छन्’, राष्ट्रपति भण्डारीले भनिन्। 

उनले नेपालमा लगानीमैत्री वातावरण भएको राजनीतिक स्थायीत्वले नीतिगत स्थिरता दिई लगानीकर्ताको सुरक्षालाई सुनिश्चित गरेको, विकासका चुनौती ठूला र बहुआयामिक भएको, मुलुक प्राकृतिक स्रोतले भरिपूर्ण भए पनि विकासका सम्भावित लाभ लिन पर्याप्त भौतिक स्रोत साधन र प्रविधिको नभएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायको समर्थन र सहयोगको आवश्यक भएको बताइन्। 

मञ्चमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले तुलनात्मक रुपमा छोटो समयमा अभूतपूर्व विकास गरेको र गरीबीबाट समृद्धतर्फ गएको बताउँदै नेपालले यसलाई प्रशंसाको रुपमा हेरेको बताउनुभयो र यस विकासको फाइदा लिन चाहेको बताए। उनले चीन नेपालको महत्वपूर्ण विकास साझेदार रहेको र सबैभन्दा ठूला व्यापार साझेदार तथा विदेशी लगानीकर्तामध्ये एक भएको बताए।  

कार्यक्रममा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषद्का पूर्वअध्यक्ष जियाङ जेङवी, चीनको वाणिज्य मन्त्रालयका एशिया विभागका निर्देशक पेङ गाङ, चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) का संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइन्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ, सिङघुवा विश्वविद्यालयका बेल्ट एण्ड रोड पोर्टलका निर्देशक सी जिसिन, रेलवे इन्टरनेशनलका उपाध्यक्ष वाङ लिजी, हुआजियान इन्टरनेशनल ग्रुपका झाङ हुवारोङ, चाइना रेलवे फस्र्ट सर्वे एण्ड डिजाइन इन्स्टिच्यूटका झु लिजेङले आफ्नो धारणा राखेका थिए। रासस
 

प्रकाशित मिति: १९:०८ बजे, आइतबार, वैशाख १५, २०७६