Kathmandu Press

खुला ठाउँको अतिक्रमण होइन, संरक्षण गरौंः नेफेज

काठमाडौं, वैशाख १५ : नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले खुलामञ्चलगायत विभिन्न क्षेत्रमा रहेका सरकारी जग्गाको अतिक्रमण र दोहनप्रति आफ्नो गम्भीर....

खुला ठाउँको अतिक्रमण होइन, संरक्षण गरौंः नेफेज

काठमाडौं, वैशाख १५ : नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले खुलामञ्चलगायत विभिन्न क्षेत्रमा रहेका सरकारी जग्गाको अतिक्रमण र दोहनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

उसले काठमाडौंको मुटुमा रहेको खुलामञ्चको अतिक्रमण, उपत्यकाको जैविक विविधताका लागि महत्वपूर्ण मानिने चन्द्रागिरीमा बनाइएको रिसोर्टलगायत उपत्यका वरपरका सार्वजनिक जग्गा र खुला क्षेत्रमा भइरहेको अतिक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। समूहका अध्यक्ष कसमस विश्वकर्माले आइतबार विज्ञप्ति जारी विभिन्न बहानामा खुलामञ्च जस्तो क्षेत्रमा व्यापारिक प्रयोजनका लागि सटर निर्माण गरी व्यापार व्यवसाय गर्न दिनु स्वीकार्य नहुने बताएका छन्। 

रत्नपार्कमा रहेको बसपार्कमा बहुतले भवन बनाउने काठमाडौं महानगरपालिकाको योजनाले काठमाडौंबासीको भविष्यमाथि खेलवाड गर्ने भएकाले त्यसलाई तत्काल बन्द गर्न समूहले विगतदेखि नै आवाज उठाउँदै आएको स्मरण गराएको छ। ‘नागरिक समाजको आवाजलाई कुल्चेर बहुतले भवन बनाएर व्यापार व्यवसाय गर्ने कार्य निन्दनीय छ। खुल्लामञ्चको अतिक्रमण त्यसैको निरन्तरता हो। यसपटक नागरिक दबाबका कारण सटरहरु भत्काइए पनि खुल्लामञ्च विभिन्न व्यापारिक प्रयोजनमा उपयोग भइरहेको छ,’विज्ञप्तिमा भनिएको छ।

समूह खुल्लामञ्चमा विद्यमान बसपार्क, कर्मचारी आवास, स्टोरलगायतका सबै संरचनाहरु तत्काल हटाएर सार्वजनिक रुपमा भेला हुने, संवाद गर्ने, टहल्ने ठाउँकै रुपमा राख्न सरकार, काठमाडौं महानगरपालिका र सम्बद्ध सबै सरोकारवालाहरुलाई आग्रह पनि गरेको छ। 

‘पञ्चायतकालीन नियन्त्रित राजनीतिक परिवेशमा पनि यो ठाउँ खुल्ला थियो। अहिलेको खुला समाजमा यस्ता ठाउँहरुलाई नियन्त्रण गरेर व्यापार व्यवसाय गर्नु नितान्त गैरजिम्मेवार कार्य हो,’विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘सहरको सौंन्दर्य खुला ठाउँको संरक्षणमा लाग्नुपर्ने स्थानीय सरकार, सेनालगायतका निकायहरु त्यस्ता ठाउँ खोजी खोजी संरचना बनाउने कार्यमा लाग्नु आफैमा दुःखद हो।’

यस्तै, समूहले चन्द्रागिरीलगायतका ठाउँहरुमा पनि वातावरणीय प्रभाव मूल्यांकनको प्रतिकुल व्यापारिक संरचना बनाइएको तथ्यहरुबारेमा पनि सरकारले बेलैमा सचेतता अपनाएर भावी सन्ततिका लागि खुल्ला ठाउँको सुनिश्चितता र वातावरण संरक्षणमा सजगता अपनाउन आग्रह गरेको छ।

कुनैपनि सहरको सौन्दर्य बढाउन खुल्ला ठाउँहरुको महत्वपूर्ण भूमिका हुने भएकाले भूकम्पीय जोखिमको पाटोबाट पनि काठमाडौं लगायतका सहरहरुको सहरीकरण भूकम्प प्रतिरोधी हुनु आवश्यक रहेको समूहको ठहर छ। ‘घना आवादी वरपर रहेको खुल्लामञ्च जस्ता खाली ठाउँहरुले विगतमा सर्वसाधारणलाई विपत्तिको बेला आश्रय दिएको थियो र भविष्यमा पनि यसको आवश्यकता उत्तिकै छ,’विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित मिति: १७:४८ बजे, आइतबार, वैशाख १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्