दुई ब्रुमर किन्दै ललितपुर महानगरपालिका
ललितपुर, वैशाख १५ : ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रुमर खरिद गर्ने भएको छ। महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि ब्रुमर खरि....

ललितपुर, वैशाख १५ : ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रुमर खरिद गर्ने भएको छ। महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि ब्रुमर खरिद प्रक्रिया अघि बढाइएको हो।
ब्रुमर खरिदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले स्वीट्जरल्याण्डमा बनेको ब्रुमर खरिद गर्न लागेको महानगरका प्रवक्ता राजु महर्जनले बताए। ललितपुर महानगरपालिकाको शहरी क्षेत्रमा धुलो सफा गर्नका लागि दुईवटा ब्रुमर पर्याप्त हुने उनले बताए। उनले भने,'नगरका भित्री क्षेत्रमा सफा गर्न दुई वटा ब्रुमर पर्याप्त हुनेछ।'
महानगरपालिकाले खरिद गर्न लागेको ब्रुमर काठमाडौं महानगरपालिकाले अहिले सञ्चालन गरिरहेको ब्रुमरजस्तै आधुनिक प्रविधिको भएको प्रवक्ता महर्जनले बताए। ललितपुर महानगरपालिकामा अहिले एउटा सानो ब्रुमर भएपनि सञ्चालनमा नभएको उनले बताए। उनले भने, “अहिले हामीसँग भएको पुरानो प्रविधिको ब्रुमरले धेरै धुवाँ फल्ने भएकाले वातावरण प्रदूषण गर्ने भएकाले अहिले सञ्चालनमा छैन।”
महानगरभित्रका सडक सफा गर्नका लागि महानगरपालिकाले गाडी र कर्मचारी पनि थप्ने तयारी गरेको छ। रासस











