नागिडाँडा विमानस्थलः रवीन्द्र अधिकारीले असम्भव देखेको प्रोजेक्टमा सफल होलान् बाँस्कोटा?
काठमाडौं, वैशाख १५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले धुलिखेलमा आन्तरिक विमानस्थल बनाउने आइतबार पुनः घोषणा गरेका छन्।
काठमाडौं, वैशाख १५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले धुलिखेलमा आन्तरिक विमानस्थल बनाउने आइतबार पुनः घोषणा गरेका छन्।
गत वर्ष तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बनेपाको नागिडाँडामा आन्तरिक विमानस्थल बनाउन प्रारम्भिक सम्भाव्यता अध्ययनसमेत गराएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दै गएको उडानको चापलाई मध्यनजर गर्दै वैकल्पिक व्यवस्था गर्न काभ्रेका तीन स्थानमध्ये नागिडाँडालाई प्रारम्भिक अध्ययनका लागि छनोट गरिएको थियो।
विगतमा सञ्चारमन्त्री बाँस्कोटाकै दबाबमा धुलिखेलमा बनाउन नागरिक उड्डयन प्राधिकरणले पटक-पटक अध्ययनसमेत गरेको थियो। विमानस्थल निर्माण गर्ने भनिएको ठाउँमा नेपाली सैनिकको व्यारेक छ। त्योसँगसँगै धावनमार्गका लागि प्रर्याप्त ठाउँ नपुग्ने निष्कर्ष दुई वर्ष अगाडि नै निकालिएको थियो। त्यही आधारलाई मध्यनजर गर्दै मन्त्री बाँस्कोटाकै दबाबमा तत्कालीन पर्यटनमन्त्री अधिकारीले बनेपामा अध्ययन गर्न टोलीसमेत लगेका थिए।
अध्ययनपछि प्राधिकरणको एक प्राविधिक समितिले नागिडाँडामा विमानस्थल बनाउने हो भने हेलिकप्टरबाहेक अन्यलाई अवतरण गर्न समस्या पर्ने सुझाव दिएको थियो। विवादका कारण सार्वजनिक नगरिएको उक्त प्रतिवेदनमा नागिडाँडामा विमानस्थल बनाउँदा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटमा असर पर्नेसमेत उल्लेख गरिएको थियो।
‘नागिडाँडामा विमानस्थल निर्माण गर्नु भनेकाे राज्यको पैसा दुरूपयोग गर्नु हाे। त्यसैले विमानस्थल बनाउन हुँदैन भन्ने सुझाव दिएपछि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी पछि हट्नु भएको थियाे,’ प्राधिकरणका एक प्राविधिकले भने।
हवाई रुटमा असर पर्ने भन्दै उक्त आयोजना नबनाउने आन्तरिक निष्कर्ष समेत निकालेको थियो। त्यो निष्कर्ष मन्त्री अधिकारीलाई सुनाएपछि आयोजना निर्माणबाट पछाडि हट्ने निर्णयमा पुगेका थिए। तत्कालीन मन्त्री अधिकारीलाई विमानस्थल बनाउन केही व्यवसायीले समेत दबाब दिएका थिए।
प्राविधिक र विज्ञहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा रहेकाले सानो विमानस्थलमा खर्च नगर्न मन्त्री अधिकारीलाई सुझाव दिएका थिए। तैपनि, प्रधाननमन्त्री केपी शर्मा ओलीसम्मको दबाब थेग्न नसकेपछि चालु आर्थिक वर्ष २०७५/७६ मा बजेटसमेत विनियोजन गरिएको थियो।
यो विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको थियो। यसका लागि माटोले पुरेर विमानस्थल बनाउनु पर्ने अवस्था समेत रहेको प्राविधिकले निष्कर्ष निकालेका थिए। प्राविधिकहरुसँगको अनौपचारिक छलफलपछि मन्त्री अधिकारीले भैरहवा विमानस्थललाई जोडतोडले अगाडि बढाउन सबै संयन्त्र परिचालन गरेका थिए।
अहिले सञ्चारमन्त्री बाँस्कोटाले पुनः धुलिखेलमा विमानस्थल बनाउने विषय अगाडि सारेर तरंग सिर्जना गरेका छन्। काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघले आइतबार बनेपामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउने विषयमा सरकार पछि नहटेको समेत बताए। ‘एयरपोर्टका लागि बनेपाको नागिडाँडा उपयुक्त नभए धुलिखेलमा बन्छ, हामीले अनुगमन गरिसकेका छौँ,’ मन्त्री बाँस्कोटाले भने।
बाँस्कोटाकै दबाबमा तीन ठाउँको अध्ययन
अधिकारी पर्यटनमन्त्री भएलगत्तै सञ्चारमन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत बनेपामा विमानस्थल बनाउन दबाब दिएका थिए। मन्त्री अधिकारीले काभ्रेको बनेपा नगरपालिका–११ मा रहेको नागिडाँडा, धुलिखेल ७ र ९ को सिमानामा पर्ने ठूलीचौर र धुलिखेल ११ र १२ को सिमानामा पर्ने चिसापानी ठूलीचौरमा अवलोकन गरेका थिए।
मन्त्री अधिकारीले बाँस्कोटा, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलगायत स्थानीय जनप्रतिनिधिसहितको टोलीलाई आन्तरिक विमानस्थल बन्न सक्ने काभ्रेका सम्भावित ठाउँहरुको अवलोकन गराएका थिए।
आन्तरिक विमानस्थलका लागि २५ देखि ३० वटा जहाज पार्किङ गरेर राख्न मिल्ने ठाउँ आवश्यक पर्नेछ। आन्तरिक विमान राख्ने मात्र भएपनि त्रिभुवन विमानस्थलबाट काभ्रे सार्न सके ३० प्रतिशत ‘ट्राफिक’ कम हुने अनुमानसहित अध्ययन सुरु गरिएको थियो। मन्त्री अधिकारीले प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा हवाई क्षेत्र सुधारका लागि प्रतिवेदन दिन सुझाव समिति बनाएका थिए।
समितिले समेत नागिडाँडामा विमानस्थल नबनाउन सुझाव दिएको थियो। ‘हामीले तत्कालीन मन्त्री अधिकारीलाई नागिडाँडामात्रै नभएर आन्तरिक विमानस्थल कतै पनि नबनाउन सुझाव दिएका थियौं,’ हवाई विज्ञ देउजाले भने। नेपालमा आवश्यकताभन्दा बढी विमानस्थल निर्माण भएकाले ठूला र अन्तर्राष्ट्रिय विमानस्थलमा केन्द्रित हुनु पर्ने देउजा समितिको निष्कर्ष थियो। मन्त्री अधिकारीले सोही प्रतिवेदनलाई आधार बनाएर विमानस्थल निर्माणको मापदण्ड समेत जारी गरेका थिए।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तत्कालीन मन्त्री अधिकारी र मन्त्रालयलाई नागिडाँडामा विमानस्थल निर्माण प्रक्रिया अगाडि नबढाउन निर्देशन समेत दिएको थियो।प्राविधिकले बनेपाको नागिडाँडामा ३४ हेक्टर जमिनमा ७ सय मिटरको मात्रै धावनमार्ग बनाउन सकिने जनाएको थियो।
मन्त्री बाँस्कोटाले निर्माण गर्ने भनेको धुलिखेलमा पनि बढीमा एक हजार मिटरको धावनमार्ग निर्माण गर्न सकिने निष्कर्ष प्राविधिकहरुले निकालेका थिए। धुलिखेलको ठूलीचौरमा विमानस्थलको सम्भावता अध्ययन भएको एक दशक पुगेको छ। निर्माण हुने भनिएको स्थानमा पूरै शहरीकरण भइसकेकाले ६० प्रतिशत जग्गा व्यक्तिको पर्नेभएकाले राज्यले ठूलो रकम मुआब्जावापत तिर्नुपर्ने हुन्छ।
२०६५ मा तत्कालीन माओवादीबाट हिसिला यमी पर्यटनमन्त्री हुँदा पाँचखाल र भकुन्डेबेसीमा विमानस्थल निर्माण गर्ने चर्चा चलेको थियो। तर, स्थानीयको विरोधका कारण सर्भे समेत हुन सकेकाे थिएन।माओवादीबाटै लोकेन्द्र विष्ट पर्यटनमन्त्री भएका समयमा पनि नागिडाँडा र धुलिखेलको ठूलीचौरमा विमानस्थल बनाउने कुरा चर्चा चलेको थियो। त्यका लागि नागिडाँडा र ठूलीचौरमा सम्भाव्यता अध्ययन पनि भएको थियो।
अहिले सौर्य र श्री एयरलाइन्ससँग बम्बार्डियर, नेपाल एयरलाइन्ससँग एमए-६०, बुद्ध एयरसँग बिचक्राफ्ट र एटीआर तथा यती एयरलाइन्ससँग जेटस्ट्रिम र एटीआर जस्ता ठूला जहाज छन्। यी विमानले साना विमानस्थलमा उडान र अवतरण गर्न सक्दैनन्। अहिले त्रिभुवन विमानस्थलबाट आन्तरिक गन्तव्यमा हुने ३० प्रतिशत उडान पहाडी विमानस्थलका लागि हुन्छन्। त्यसबाहेकका ६५ प्रतिशत उडान ट्रंक रुटमा हुने गरेका छन्। स्रोतका अनुसार उक्त क्षेत्रमा केही व्यापारीको जग्गा रहेकाले उनीहरूकै दबाबमा विमानस्थल बनाउन मन्त्री बाँस्कोटा प्रयासरत छन्।






