जथाभावी राखिएका टिकट काउन्टर हटाइने
काठमाडौं, वैशाख १५ : ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर हटाउने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशा....

काठमाडौं, वैशाख १५ : ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर हटाउने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले हटाउने जनाएको हो । यसका लागि सात दिनको म्याद दिइएको छ।
जिल्ला प्रशासन कार्यालयमा केही दिनअगाडि बसेको ट्राफिक प्रहरी र यातायात व्यवसायीको बैठकले नयाँ बसपार्क तथा अन्य ठाउँमा नियमानुसार राखिएका काउन्टरमा टिकट वितरण गर्ने व्यक्तिले अनिवार्य रुपमा पोशाक लागउनुपर्ने र साथमा परिचयपत्र राख्नुपर्ने व्यवस्था गरेको थियो।
उपत्यकाभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट जारी भएको तीनमहीने सुधार योजना कार्यान्वयन गर्न बसपार्क पुलमुनिको सडक अतिक्रमण पनि हटाउने भएको छ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले नयाँ बसपार्क पुलमुनिको टहरा सात दिनभित्र नहटाए बल प्रयोग गरेर करिडोर खोल्ने निर्णय भइसकेको जानकारी दिए। यस्तै बालाजु पुलनजीक रहेको शिवमन्दिर क्षेत्रको साँघुरो बाटोलाई फराकिलो बनाइने भएको छ।
महाशाखाले हाल तोकिएको समय बाहेक मालवाहक टिपरलाई उपत्यका प्रवेश निषेध गरेको अवस्थामा टिपर तथा ट्रकको प्राविधिक जाँचपासका लागि दैनिक भक्तपुर नाकाबाट २० र कलङ्की नाकाबाट २० सवारी साधनलाई ट्राफिक प्रहरीको लिखित पासअनुसार प्राविधिक जाँचपासका लागि स्वीकृत दिने भएको छ।
यस्तै विभिन्न जिल्लाबाट काठमाडौं भित्रिने सवारी साधन नयाँ बसपार्क नगई आफूखुशी विभिन्न स्थानमा रोकिने भएकाले यसलाई कडाइ गरिने भएको छ। लामो तथा मध्यम दूरीका यात्रुवाहक सवारी साधनले अनिवार्य रुपमा टिकट जारी नगरे कारवाही गरिने जनाइएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकाको समग्र ट्राफिक सुधारका लागि ट्राफिक प्रहरीले चालेको कदम सराहनीय भएको बताए।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारी साधन सञ्चाल भइरहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाख सवारी साधन सञ्चाल भइरहेका छन्।(रासस)











