Kathmandu Press

अज्ञात रोगले हुम्लामा ८ जनाको मृत्यु, दर्जनाैं बिरामी

हुम्ला,  वैशाख १४ :  हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आठ जनाको मृत्यु भएको छ। रोगका कारण एक दर्जनभन्दा बढी बिरामी परेका छन्।....

अज्ञात रोगले हुम्लामा ८ जनाको मृत्यु, दर्जनाैं बिरामी

हुम्ला,  वैशाख १४ :  हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आठ जनाको मृत्यु भएको छ। रोगका कारण एक दर्जनभन्दा बढी बिरामी परेका छन्।

एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको सङ्ख्या आठ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए। बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ।

रोगबाट गाउँपालिका मैला, मदानलगायतका गाउँका मानिस बिरामी परेको स्थानीय बासिन्दाले बताएका छन्। शुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ। ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुनुका साथै स्वाथ्यकर्मी नबस्नुकै कारण उपचारमा समस्या हुँदै आएको स्थानीयवासीले बताएका छन्।

एक हप्ताअघि पानी परेसँगै रोग फैलिएपछि ताँजाकोट गाउँपालिका–१ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षकी सुनकेसा सुनार, वडा नम्बर ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिने बालक सञ्जिव थापाको मृत्यु भएको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए।
 
स्वास्थ्यचौकीमा पर्याप्त मात्रामा औषधि नभएको र स्वाथ्यकर्मी नबसेकाले बिरामीको सङ्ख्या बढेको गाउँपालिका अध्यक्ष बागचल छत्याल मल्लले बताए। घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोश टाढा भएकाले के रोगका कारणले ज्यान गएको हो भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए। 

औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिन र उक्त रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा जाने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मल्लले बताए।  अहिले  रोग सङ्क्रमित गाउँमा शिविर सञ्चालन भइरहेको र कुनै पनि स्वास्थ्य संस्थाका कर्मचारीलाई कार्यक्षेत्र नछाड्न पनि निर्देशन दिएको अध्यक्ष मल्लले बताए।

प्रकाशित मिति: १२:२१ बजे, शनिबार, वैशाख १४, २०७६