सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
राजविराज, वैशाख १४ : सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
सप्तरीको कन्चनरुप नगरपालिका–९ मा....

राजविराज, वैशाख १४ : सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४१२३ नम्बरको ट्रकलाई ना ५ ख ७९३७ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो।
ट्रकलाई पछाडिबाट ठक्कर दिएको बस अनियन्त्रित भई सडकदेखि दक्षिणतर्फ छाप्रोमा रहेको चिया पसललाई भत्काउँदा पसलमा चिया पिउन बसिरहेका कञ्चनरुप नगरपालिका–८ बस्ने ६५ वर्षीय देवनारायण महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा बसमा सवार र चिया पसलमा बसिरहेका अन्य आठ घाइते भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए। घाइतेको रुपनगरस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ भने चालक र ट्रक तथा बसलाई नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–७ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइलले पैदलयात्रीलाई ठक्कर दिँदा अन्दाजी ७० वर्षीय छुतहरु दासको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी, हनुमाननगर कंकालिनी नागरपालिका–३ स्थित पोर्ताहामा पनि मोटरसाइकल दुर्घटनमा परी एकको मृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको को १ ज ३५६२ नम्बरको गाडीले को १५ प ५५४५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी हनुमाननगर कंकालिनी नागरपालिका–३ पोर्ताह बस्ने २२ वर्षीय शङ्कर पघैया यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।











