Kathmandu Press

जलवायु परिवर्तन : हिउँमात्र होइन, हिउँमुनि बरफझैं जमेको माटो पनि पग्लिँदैछ

जलवायु परिवर्तनका कारण आर्कटिक अर्थात् पृथ्वीको उत्तरी ध्रुव पग्लिरहेको छ। आर्कटिक क्षेत्रको सतहमा पाइने हिउँमात्र होइन, त्यसमुनि माटो र ढुङ्गा मिलेर बनेको र बरफझैं जम....

जलवायु परिवर्तन : हिउँमात्र होइन, हिउँमुनि बरफझैं जमेको माटो पनि पग्लिँदैछ

जलवायु परिवर्तनका कारण आर्कटिक अर्थात् पृथ्वीको उत्तरी ध्रुव पग्लिरहेको छ। आर्कटिक क्षेत्रको सतहमा पाइने हिउँमात्र होइन, त्यसमुनि माटो र ढुङ्गा मिलेर बनेको र बरफझैं जमेको कोमल पत्र पनि पग्लिने क्रममा छ। पर्माफ्रोस्ट भनिने यो पत्र पग्लिँदा मिथेन र कार्बन डाइक्साइड उत्पन्न हुन्छन्, जसले जलवायु परिवर्तनलाई झन् तीव्र बनाउने हालै गरिएको एक अध्ययनले देखाएको छ। 

नेचर कम्युनिकेसन्स नामक जर्नलमा हालै प्रकाशित यो अध्ययन अनुसार, पर्माफ्रोस्टको क्षयबाट ७० ट्रिलियन डलर बराबर धनमाल नोक्शान हुनसक्छ।
पेरिस सम्झौतामा बाँधिएका देशहरूले  कार्बन उत्सर्जन कटौती गर्ने प्रतिबद्धता पूरा नगरे पर्माफ्रोस्ट पग्लने क्रम जारी रहने र जलवायु परिवर्तनबाट हुने आर्थिक क्षति पाँच प्रतिशतले बढ्नेछ। 

पर्माफ्रोस्ट पग्लिने क्रम र त्यसको आर्थिक क्षति आँकलन गर्ने यो नै पहिलो अध्ययन भएको यसमा संलग्न बैज्ञानिकहरूले बताएका छन्। अध्ययनमा आल्बिडो प्रभावलाई पनि समेटिएको छ। पृथ्वीको सतहसम्म पुग्ने सूर्यको कति प्रकाश नसोसिई प्रतिबिम्बित हुन्छ? त्यो नै आल्बिडो हो। तापक्रम बढ्दै जाँदा आर्कटिकमा हुनसक्ने सम्भावित प्रभावबारे अत्याधुनिक कम्प्युटर मोडेलको आधारमा अध्ययन गरिएको थियो। 

Hardik ivf

मानवनिर्मित उत्सर्जनका कारण उत्पन्न समस्यालाई अस्थिर प्राकृतिक प्रणालीले कसरी अझ गम्भीर बनाउँछ भन्ने अध्ययनले देखाउँछ।

अनुसन्धाताहरूले आर्कटिकको थुप्रै स्थानमा तीन मिटर गहिराइसम्म जमेका जैविक पदार्थको मूल्याङ्कन गरे। तापक्रम वृद्धिको विभिन्न स्तरमा कति ग्यास उत्सर्जन हुन्छ भनेर अमेरिका र संयुक्त अधिराज्यमा अत्याधुनिक सिमुलेसन सफ्टवेयरमा संकलित नमूनाको परीक्षण गरियो। सुपरकम्प्युटर भए पनि हिसाब निकाल्न धेरै साता लाग्यो किनभने आर्कटिकको वृहत भूगोल र जटिल जलवायु अन्तर्क्रियामा थुप्रै चर संलग्न छन्। त्यसपछि सम्भावित लागत निकाल्न अनुसन्धाताहरूले अघिल्ला आर्थिक प्रभाव मोडेलको प्रयोग गरे।

पर्माफ्रोस्ट पग्लिनु चिन्ताको प्रमुख विषय हो। विश्वव्यापी तापक्रम एक डिग्री सेल्सियस बढ्दा हरितगृह ग्यास अहिले नै उत्पन्न हुन थालेको छ। सैयौं वर्षदेखि जमिनमुनि जमेर बसेका जैविक पदार्थ गल्दा र कुहिँदा हरितगृह ग्यास उत्सर्जन हुने गर्दछ। हालसम्मको प्रभाव सानो छ। पर्माफ्रोस्टबाट दश जिगाटन कार्बन उत्सर्जन भइसकेको छ। तर तापक्रम डेढ डिग्री सेल्सियसभन्दा धेरै बढे उत्सर्जनको यो श्रोतको वृद्धि तीव्र हुनेछ।

यो शताब्दीको अन्त्यसम्म तापक्रम तीन डिग्री सेल्सियससम्म बढ्ने अनुमान छ। पग्लिदों पर्माफ्रोस्टले दुई सय ८० जिगाटन कार्बन डाइअक्साइड र तीन जिगाटन मिथेन उत्सर्जन गर्ने अनुमान छ । मिथेनले कार्बन डाइअक्साइडभन्दा दशदेखि बीस गुणा धेरै जलवायु प्रभाव पार्दछ।

यसले अहिले र सन् २०२० बीच विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई ७० ट्रिलियन डलरले बढाउनेछ। जहाजको सहज परिवहन र खनिजको पहुँचजस्ता आर्कटिक क्षेत्र पग्लिनुका प्रक्षेपित फाइदाको तुलनामा यो प्रभाव दश गुणा धेरै भएको प्रतिवेदनमा उल्लेख छ।

यसले विश्वव्यापी असमानता पनि ल्याउनेछ किनभने अधिकांश आर्थिक भार – जुन समग्र विश्वको वर्तमान वार्षिक कुल ग्राहस्थ उत्पादन बराबर छ – नेपाल, भारत र अफ्रिकाजस्ता गरिब देशहरूले बोक्नुपर्नेछ। यी देशहरू नै बढ्दो तापक्रमको बढी जोखिममा छन्। 

‘हामीले यस्को सामना गर्नुपरेको छ। यो दुखद कुरा हो,’ लाङकास्टर युनिभर्सिटीका दिमित्री युमाशेभले भने। ‘डेढदेखि दुई डिग्री सेल्सियसमा पनि पग्लिदों पर्माफ्रोस्टका प्रभाव र लागत हुन्छ । तर सधैंझैं यो परिप्रेक्ष्यमा यिनीहरूलाई कम मानिन्छ । हामीसँग तापक्रम वृद्धि सीमित राख्ने प्रविधि र नीतिगत औजार पनि छन् तर हामी ढिलो गरिरहेका छौं।’

नयाँ प्रक्षेपणमा केही राम्रा समाचार पनि छन्। पग्लिदों पर्माफ्रोस्टको प्रभाव अपेक्षाकृत कम रहेको पाइएको छ। अघिल्ला अनुमानमा दश प्रतिशतभन्दा धेरै खर्च हुने बताइएको थियो। केहीले मिथेन उत्सर्जन नै विनाशकारी हुने अनुमान गरेका थिए। तर नयाँ तथ्याङ्कले कार्बन डाइअक्साइड नै सबैभन्दा ठूलो चिन्ता भएको देखाएको छ।

‘यो टाइम बम हो। तर यसअघि विश्वास गरिएजस्तो गम्भिर नहुनसक्छ,’ युमाशेभले भने ।

तर उनले सम्झौता पालन नगर्नुको जोखिमबारे चेतावनी दिएका छन् किनभने थोरै क्षतिले पनि ठूलो परिमाण ल्याउनसक्छ। अध्ययनले अनिश्चितता उल्लेखनीय भएको देखाएको छ र अन्य थुप्रै साना समस्याहरूको आर्थिक प्रभाव हिसाब गर्न बाँकी नै छ।

द गार्जियनबाट

प्रकाशित मिति: ०७:१९ बजे, शनिबार, वैशाख १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्