खुलामञ्चका सटरको सलामी मात्रै १५ लाख
काठमाडौं, वैशाख १३ : अबैध रुपमा खुलामञ्चमा बनाइएका सटरहरुको सलामी १५ लाखसम्म लिने गरेको भेटिएको छ ।
पुरानो बसपार्कमा भ्यु टावर बनाउने ....
काठमाडौं, वैशाख १३ : अबैध रुपमा खुलामञ्चमा बनाइएका सटरहरुको सलामी १५ लाखसम्म लिने गरेको भेटिएको छ ।
पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का लिएको स्वच्छन्द विल्डर्सका मालिक मनोज भेटुवाल र रानीपोखरी सहकारी संस्था चलाएका ऋषीराम बर्तौला मिलेर खुलामञ्चमा आफुखुशी सटर बनाउँदै बेच्ने गरेका छन् ।
स्थानीय व्यापारीहरुका अनुसार ती दुइजना ठेकेदार मिलेर रातारात स्टल निर्माण गरिदिने र महङगो रकम तिर्नेलाई मात्रै सटर भाडामा दिने गरेका छन् ।
‘मैले १० लाख तिर्ने भनेर मौखक डिल गरेको थिएँ । ठेकेदारले हामीलाई नदिने भनेपछि हामीले भित्री रुपमा त्यहाँ रकम उठाउने जिम्मा लिएका भित्रै होटल व्यवसाय चलाइरहेका मधेशतिरका गुप्ता थरका व्यक्तिलाई आठ लाख तिरे । तर सम्झौता गर्न भने मान्दैनन’ स्टल चलाईरहेकाका व्यवसायी राजकुमार श्रेष्ठले भने ।
उनीहरुले सटर बनाइदिए बापत भन्दै ७ लाखदेखि १५ लाख र मासिक भाडा बापत १० हजारदेखि १५ हजारसम्म लिएको व्यवसायीहरुले बताएका छन् ।
किन रकम तिरेको तपाइले सरासर भन्ने प्रश्नमा उनी भन्छन्, ‘मैले त बर्षौदेखि व्यवसाय गरिरहेका थिएँ । पैसा देउ नत्र छोड् भने अनि बाध्य भएर तिरेको छ ।’
अर्का व्यापारी हरिप्रसाद पाण्डे सटरका लागि सलामी बापतनै कम्तीमा १० र बढिमा १५ लाख दिनुपरेको बताउँछन् । ‘ती ठेकेदारहरुले ‘सलामी’ बापत कम्तीमा ७ लाख देखि १५ लाखसम्म लिएका छन् । त्यो रकम नगद नलिएर सहकारीमा स्वयं व्यवसायी नाममा जम्मा गर्न लगाइएको छ । धेरैले सहकारीमै जम्मा गरेका छन् । त्यो रकम विभिन्न नाममा सहकारीको खातामा पठाइएको छ’ पाण्डेले भने ।
स्वरोजगार व्यापार श्रमिक संघ कामनपा २८ नम्बर वडा इकाइ कमिटीका अध्यक्ष समेत रहेका पाण्डेले बाँठा र कुरा गर्न सक्ने व्यवसायीलाई त्यहाँ बस्न नदिएको पनि बताए ।
उनले भने, ‘त्यहाँ हामीजस्तालाई जानै दिदैनन् । जसले रातारात रकम संकलन गरेर दिन्छ, त्यस्तालाई मात्रै बस्न दिइएको छ । मलाई दिन्छु भन्दाभन्दै नदिएर बाहिर बसेको छु ।’
ठेकेदारहरुले अहिले पूर्वतिरका सटरलाई १० लाख रुपैंया र पश्चिम वीर अस्तिालतर्फका स्टलहरुलाई १५ लाख रुपैयामा विक्रि गरेका छन् ।
खुल्लामञ्चभित्र उत्तरतर्फ ४८ वटा स्टल रहेका छन् । यस्तै पश्चिमपट्टी बसपार्क छिर्ने मुखमा ७ वटा नयाँ बन्दैछन् भने वीर अस्पतालको अगाडिपट्टी देब्रेपट्टी २८ वटा स्टल बनेका छन् ।