उपत्यकामा १८ हजार ८१६ लाई काेराेना, १४१ को मुत्यु
देशका अन्य भागमा कोरोना भाइरसको संक्रमण कम हुँदै गएको भएपनि काठमाडौं उपत्यकामा भने बड्दै गएको छ।
काठमाडौं, असोज १५ : देशका अन्य भागमा कोरोना भाइरसको संक्रमण कम हुँदै गएको भएपनि काठमाडौं उपत्यकामा भने बड्दै गएको छ। बिहीबारसम्म उपत्यकामा संक्रमितको संख्या १८ हजार आठ सय १६ पुगेको छ भने एक सय ४१ जनाले ज्यान गुमाएका छन्।
उपत्यकामा पहिलो संक्रमण गत चैत १० गते देखिएको थियो। त्यसयताका केही महिना नियन्त्रणमा रहेपनि पछिल्लो एक महिनादेखि भने संक्रमण बढ्दै गएको छ।
अहिले देशभर दैनिक थपिने गरेका संक्रमितमध्ये ४० प्रतिशतभन्दा बढी उपत्यकामा पुष्टि हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले जनाएको छ। स्वास्थ्य कार्यालयकी सूचना अधिकारी पार्वती विष्टका अनुसार असोज १४ गतेसम्म काठमाडौं जिल्लामा मात्रै १४ हजार एक सय ९५ जनामा संक्रमण पुष्टि भएको छ।
उनीहरुमध्ये ६ हजा दुई सय ४५ जना निको भएका छन्। त्यस्तै, कोरोनाबाट ९४ को मृत्यु भएको छ। अहिले काठमाडौंमा सक्रिय संक्रमितको संख्या पाँच हजार पाँच सय ५१ रहेको विष्टले बताइन्।
यो काठमाडौंमा देखिएका संक्रमितको तथ्यांक हो। यसमा अन्य जिल्लाबाट रिफर गरिएकाहरुको संख्या समावेश गरिएको छैन। ‘अहिले काठमाडौं जिल्ला रेड जोनमा छ,’ उनले भनिन्।
बाक्लो बस्ती र लापरबाहीका कारण संक्रमण फैलिदै गएको स्वास्थ्य कार्यालयले जनाएको छ। ‘सार्वजनिक यातायात सञ्चालनमा आएपछि अझ संक्रमितको संख्या बढेको देखिन्छ,’ उनले भनिन्। भदौंको अन्तिम सातादेखि उकालो लागेको कोरोना संक्रमितको संख्या घटेको छैन। अहिलेकै अवस्था कायम रहने हो भने भयानाक स्थिति आउन सक्ने उनको भनाइ छ।
काठमाडौंपछि ललितपुर कोरोना संक्रमण धेरै देखिएको छ। ललितिपुरमा असोज १४ गतेसम्म दुई हजार पाँच सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ। बरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालका अनुसार ललितपुरमा एक हजा चार सय २५ जना निको भइसकेका छन्। कोरोनाबाट २१ जनाको मृत्यु भएको छ। नौ सय ६९ जना सक्रिय संक्रमित रहेका छन्।
ललितपुरमा पछिल्लो सातादेखि दैनिक एक सयभन्दा बढी संक्रमित थपिँदै आएका छन्। स्वास्थ्य मापदण्ड पालना गर्न छोडेकाले अवस्था भयानक हुन सक्ने डा.गेलालको भनाइ छ।
त्यस्तै, भक्तपुरमा कोरोना संक्रमितको संख्या दुई हजार ९४ पुगेको छ। त्यसमध्ये एक हजार ७२ जना निको भएको र २६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय, भक्तपुरको बरिष्ठ जनस्वास्थ्य प्रमुख कृष्ण मिजारले बताए। उनका अनुसार अहिले संक्रिय संक्रमितको संख्या नौ सय तीन रहेको छ।
काठमाडौं र ललितपुरको तुलनामा संक्रमण कम भएपनि बढ्दै गएको उनले बताए। ‘भक्तपुरमा असोजको पहिलो हप्तादेखि कोरोना संक्रमितको संख्या २० प्रतिशतले बढिरहेको छ,’ मिजारले भने।
देशभर कोरोना संक्रमितको संख्या ७७ हजार आठ सय १७ पुगेको छ। जसमध्ये चार सय ९४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। त्यस्तै, ५६ हजार चा सय २८ जना निको भएका छन्।












-(86)-1764936079.jpg)