Kathmandu Press

सगरमाथा आरोही सुदर्शन गौतमविरुद्ध 'रेड नोटिस'

काठमाडौं, वैशाख १३ : सरगमाथा आरोही सुदर्शन गौमतविरुद्ध ‘रेड नोटिस’ जारी गरेको छ।

दुवै हात नभएका सुदर्शनले ६ वर्ष अघि सगरमाथाको स....

सगरमाथा आरोही सुदर्शन गौतमविरुद्ध 'रेड नोटिस'
एजेन्सी

काठमाडौं, वैशाख १३ : सरगमाथा आरोही सुदर्शन गौमतविरुद्ध ‘रेड नोटिस’ जारी गरेको छ।

दुवै हात नभएका सुदर्शनले ६ वर्ष अघि सगरमाथाको सफल आरोहण गरेका थिए। उनले नेपाली चलचित्र ‘हिम्मतवाली’मा पनि अभियन गरेका थिए।

मानव तस्करीको आरोपमा उनीविरुद्ध ‘रेड नोटिस’ जारी भएको इन्टरपोल शाखा प्रमुख एसएसपी उमेश जोशीले बताए। साढे आठ महिनाको प्रक्रियापछि सुदर्शनविरुद्ध ‘रेड नोटिस’ जारी भएको एसएसपी जोशीले बताए।

सगरमाथा आरोहणका क्रममा सुदर्शन गौतम।

इन्टरपोल शाखा प्रमुख जोशीका अनुसार, ‘रेड नोटिस’ जारी भएसँगै इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीले उनको खोजी गर्ने छन्। अहिले एक सय ९२ देशका इन्टरपोलका सदस्य छन्।

अहिले सुदर्शन क्यानाडामा बस्दै आएका छन्। उनको समूहले नेपाली युवतीलाई अमेरिका लाने गरेको खुलेको थियो।

दुई वर्ष अघि तीन नेपाली युवतीलाई हाइटीमा अलपत्र छोडिएको थियो। फिल्मको सुटिङका लागि भनेर हाइटी लगिएको प्रहरीको अनुसन्धानमा खुलेको थियो।

त्यहाँबाट समुद्री बाटो हुँदै अमेरिका लग्ने योजना थियो। तर, उनीहरु बहामासमा पक्राउ परेका थिए। अमेरिकी दूतावासको सहयोगमा नेपाली युवतीलाई नेपाल फर्काइएको थियो।

अनुसन्धानका क्रममा यसमा सुदर्शनको संलग्नता देखिएको थियो। उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

तर, क्यानाडामा बस्दै आएका उनी अदालतमा उपस्थित भएनन्। उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)लाई पत्राचार गरेको थियो। त्यसकै आधारमा सुदर्शनविरुद्ध ‘रेड नोटिस’ जारी भएको इन्टरपोल शाखा प्रमुख एसएसपी जोशीले बताए।

अब उनी क्यानाडामा पनि पक्राउ पर्न सक्ने प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १३:५७ बजे, शुक्रबार, वैशाख १३, २०७६