Kathmandu Press

महाभूकम्पपछि कहिलेसम्म आउँछन परकम्पन?

चितवन, वैशाख १३ : महाभूकम्प गएको क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले बताएका छन्।

नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारि....

महाभूकम्पपछि कहिलेसम्म आउँछन परकम्पन?
फाइल फोटो

चितवन, वैशाख १३ : महाभूकम्प गएको क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले बताएका छन्।

नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्राडा. हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेका छन्।

उनका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ। भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको उनको भनाइ छ। यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने प्राडा. पौडेलले बताए।

ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्पन आइरहने गर्छ। जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पनले दिने उनले बताए।

भूकम्प गएको ठाउँमै तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्पन मात्र जाने उनले बताए। जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उनको भनाइ छ।

विसं १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रविन्दु भई महाभूकम्प जाँदा १० हजार सात सय जनाले ज्यान गुमाएका थिए। त्यसको प्रभाव भारतको दरभङ्गासम्म पुगेको उनले बताए।

वि.सं. २०४५ मा धरानमा ६.४ रेक्टरको भूकम्प गएको थियो। अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको उनको भनाइ छ। पश्चिम नेपालमा पाँच सय वर्षभन्दा बढीदेखि ठूला भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उनले बताए।

भूकम्पीय जोखिम कम गर्न सरकारले जनतालाई सचेत गराउनुपर्ने उनको भनाइ छ। भूकम्पले नभएर संरचनाले क्षति पुर्‍याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प आउँदा आपतकालीन व्यवस्था गर्नुपर्ने प्राडा. पौडेलले बताए।

चार वर्षअघि गोरखाको बारपाकमा केन्द्रविन्दु हुने गरी गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो । (रासस)

 

प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, वैशाख १३, २०७६